फिल्मी फण्डा । आगामी फागुन १४ गते महाशिवरात्रिको विशेष अवसरमा प्रदर्शनमा आउने नेपाली सिनेमा 'मायावी' को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले सिनेमाको एक नयाँ गीतको प्रदर्शनपछि यी पोस्टरहरू सार्वजनिक गरेका हुन्। नयाँ पोस्टरमा अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईको प्रमुख स्थान छ।
एक पोस्टरमा पल शाह र दीपिका प्रसाई एक अर्कासँग रोमान्टिक देखिएका छन् भने अर्को पोस्टरमा पल भावुक भावनामा डुबेका छन्। यी पोस्टरहरूले सिनेमामा प्रेम र पीडाको मिश्रित भावनालाई व्यक्त गरेको संकेत गर्दछ।
'मायावी' सिनेमामा पल शाह र दीपिका प्रसाईसँगै सुशिल सिटौला, करिश्मा श्रेष्ठ, डेव्यु अभिनेता समीम खान, राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाई, दीपेन्द्र सिम्खडा र संगीता सिलवाल जस्ता कलाकारहरूको अभिनय पनि देख्न सकिन्छ।
दिवाकर भट्टराईले लेखन र निर्देशन गरेको यो सिनेमालाई क्रियटिम सिने आर्ट्स र नेम महर्जनको लगानीमा निर्माण गरिएको हो। सिनेमाको निर्माणमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माता तथा राजु पराजुली र सुमित वली सह-निर्माता रहेका छन्। प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माताको रूपमा कार्यरत छन्।
सिनेमाको सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने सह-निर्देशन बसन्त अधिकारीको छ। शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी सहित, सिनेमा ‘मायावी’ले प्रेम, विछोड र मित्रताको कथालाई पर्दामा उतार्ने प्रयास गरेको छ। पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन् भने फोटोसुट विकास खतिवडाले गरेका छन्।