फिल्मी फण्डा । सुरक्षा पन्तको प्रमुख अभिनय रहेको थ्रिलर फिल्म ‘खेल’ आगामी १२ बैशाखमा प्रदर्शन हुने भएको छ। आइतबार सार्वजनिक गरिएको पोस्टरमा फिल्मको विषयवस्तु झल्काउने रहस्यपूर्ण र डरलाग्दो दृश्य देखाइएको छ।
पोस्टरमा ‘बेपत्ता भएको ६ वर्ष भयो’ भन्ने शब्दले फिल्मको कथा गम्भीर रहस्य र थ्रिलमा आधारित रहेको संकेत गर्दछ। चार साथीहरूको जीवनमा विगतका भयानक घटनाहरूले पारेको प्रभाव र उनीहरूले सामना गरेका अलौकिक चुनौतीहरू फिल्मको मूल कथा हो।
फिल्ममा सुरक्षा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, निकिता आचार्य, भोलाराज सापकोटा, मिथिला शर्मा, सरिता गिरीलगायतको अभिनय छ।
फिल्मलाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन्।
‘खेल’ सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको हो। कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार गरेका छन्। फिल्मको छायांकन रोशन राई र सञ्जय लामाले गरेका हुन्। सम्पादन, ध्वनि, रंग संयोजन, प्रोडक्सन डिजाइन र कस्ट्युम डिजाइनमा अनुभवी प्राविधिकहरूको योगदान छ ।
चलचित्रको वितरण डिसिएनले गर्नेछ भने प्रचार-प्रसार ट्राइडेन्ट कन्सेप्टले सम्हाल्नेछ।
थ्रिलर, रहस्य, र अलौकिक घटनाहरूको मिश्रण रहेको ‘खेल’ले दर्शकलाई फरक अनुभव दिने अपेक्षा गरिएको छ।