फिल्मी फण्डा । लभस्टोरी फिल्मका राजकुमार मानिने अभिनेता आर्यन सिग्देलका लागि केही वर्ष चुनौतीपूर्ण भए पनि अहिले उनी फेरि व्यस्त देखिएका छन्। लगातार असफलतापछि फिल्म ‘पूजार सार्की’ ले उनको करिअरलाई नयाँ मोड दिएको छ।
आर्यनले हालै मात्र फिल्म ‘के घर के डेरा २’ को छायांकन पूरा गरेका छन्। अब उनी नयाँ प्रोजेक्ट ‘महाभोज’ मा काम गर्न लागिपरेका छन्। शनिबार उनले निर्माता मुनाल घिमिरेसँग फिल्म ‘माग्ने राजा’ का लागि औपचारिक सम्झौता गरेका छन्।
‘माग्ने राजा’ हास्यप्रधान कथामा आधारित फिल्म हो, जसमा केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा देखिनेछन्। उनको जोडीका रूपमा वर्षा सिवाकोटी रहेको छिन् । आर्यनले फिल्ममा महत्त्वपूर्ण सहायक भूमिका निर्वाह गर्नेछन्।
फिल्म ऋषि लामिछानेको निर्देशनमा तयार हुँदैछ। यसमा पवित्रा सार्की , शिशिर बाङ्देललगायत कलाकार पनि सहभागी हुनेछन्। पटकथा र संवाद सामिप्यराज तिमिल्सिनाले लेखेका छन्।
फिल्मको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् भने संगीत दीपक शर्माले तयार पार्नेछन्। चर्चाका अनुसार, केदार घिमिरेले यो फिल्मका लागि ५० लाख पारिश्रमिक लिएका छन्।
आर्यनका लागि ‘माग्ने राजा’ अर्को महत्त्वपूर्ण फिल्म बन्ने अपेक्षा गरिएको छ। हाल उनी लगातार नयाँ प्रोजेक्टहरूमा अनुबन्धित हुँदै आफ्नो व्यस्तता बढाउँदै गइरहेका छन्।