दिपेश रोक्का । जाडो लागेपछि हलमा दर्शकको कमी छ । तर सिनेमा निर्माणको क्रम भने रोकिएको छैन । जाडोयाम सुरु भएपछि चलचित्रहरूको व्यापारमा भने निकै गिरावट आएको छ । फिल्म निर्माणमा निर्माताहरूले करोडौं रुपैयाँ लगानी गरेपनि त्यहीअनुसार व्यापार भने हुन सकेको छैन । केही अपवादबाहेक फिल्महरूले अपेक्षित व्यापार गर्न सकिरहेका छैनन् । केही निर्माताहरूले नाम चलेका कलाकारहरूको प्रयोग गरेर सिनेमा सफल हुने आशा गरेका छन्,तर चलचित्र नचल्दा ठूलो हानि व्यहोर्नु परेको उनीहरूको भनाइ छ ।
पछिल्लो पटक 'पूर्णबहादुरको सारङ्गी,'र 'बाह्र गाउँ'लगायत फिल्महरूले राम्रै व्यापार गरेपनि अन्य फिल्महरूले उत्साह थप्न सकेका छैनन् ।
यी फिल्मको व्यापार देखेपछि अहिले निर्माताहरूमा उत्साह थपिएको छ । एकपछि अर्को गरी फिल्म निर्माणको घोषणा भइरहेका छन् ।
फिल्ममा नायक वा नायिकाको छनोटमात्रै होइन,दर्शकको रुचिअनुसारको कथावस्तु तयार गर्नुपर्ने चुनौती समेत निर्माता र निर्देशकहरूलाई परेको छ । २०८२ सालमा मात्रै करिब २०० फिल्महरू निर्माण र रिलिजको तयारीमा छन् । तर ती सबै फिल्म हलसम्म पुग्लान् वा नपुग्लान् भन्ने अनिश्चित छ ।