फिल्मी फण्डा । दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘महाभोज’ को छायांकन कास्कीको घाचोकमा मंगलबारदेखि सुरु भएको छ। ४५ दिनको सुटिङ तालिकासहित सुरु भएको सिनेमाको पहिलो शट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिएका हुन्।
गत साता काठमाडौंमा सिनेमाको स्क्रिप्ट र क्यामेरा पूजा गरिएको थियो। हिमाल कडरियाको निर्माणमा बनिरहेको यो सिनेमामा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, बुद्धि तामाङ, मोहन निरौला, कमलमणि नेपाल लगायत कलाकारको अभिनय रहनेछ।
सिनेमाले समाजमा हुने भ्रष्टाचार, विश्वासघात, र सर्वसाधारणमाथिको अन्यायविरुद्धको विद्रोही कथा प्रस्तुत गर्नेछ। निर्देशक राउतका अनुसार, ‘महाभोज’ ले न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व देखाउँदै नागरिकको सहनशीलता टुटेपछि समाजमा आउने परिवर्तनलाई चित्रण गर्ने प्रयास गर्नेछ।
सिनेमाको कार्यकारी निर्माताहरू किरण नेपाली र सुदीप ढकाल हुन्। विकास सुवेदीले लेखेको यो सिनेमामा राजेश श्रेष्ठले छायांकन, निमेष श्रेष्ठले सम्पादन, र उत्तम न्यौपानेले ध्वनि डिजाइनको जिम्मा लिएका छन्। काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रिब्युसनले यसको वितरण गर्नेछन्।