'एक्टर: टेक वन'को अभिनय प्रतियोगिता: विजेतालाई भविष्यको फिल्ममा चान्स

फिल्मी फण्डा । नेपाली फिल्म ‘एक्टर: टेक वन’ले माघ १६ मा रिलिजको तयारी गर्दै गर्दा फिल्मले ‘अभिनय प्रतियोगिता’को घोषणा गरेको छ। प्रतियोगिताका विजेताले आगामी चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन्।

यो प्रतियोगितामा भाग लिन इच्छुकहरूले चलचित्र ‘एक्टर: टेक वन’को टिजर, ट्रेलर वा गीतको कम्तीमा १ मिनेट लामो भिडियो बनाएर आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्नुपर्नेछ। पोस्ट गर्दा चलचित्रका आधिकारिक ह्यान्डलहरू फेसबुकमा `aktornepalifilm`, इन्स्टाग्राममा `aktorthefilm`, र टिकटकमा `aktornepalifilm` लाई ट्याग वा मेन्सन गर्नुपर्नेछ र ह्यासट्याग #AKTORMAGH16 समावेश गर्नुपर्नेछ।

प्रतियोगिताका सहभागीहरूको भिडियोलाई चलचित्रको आन्तरिक सृजनात्मक टिमले मूल्याङ्कन गरी विजेता घोषणा गरिनेछ। यो प्रतियोगिता माघ ३० सम्म चल्नेछ र 'एक्टर: टेक वन' का प्रमुख कलाकार प्रदिप खड्काले विजेता घोषणा गर्नेछन्।

चलचित्र 'एक्टर: टेक वन' को ट्रेलरले उत्साहजनक प्रतिक्रिया प्राप्त गरिसकेको छ। ट्रेलरलाई पच्चीस लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ र नेपाल ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ।

राजन भुसालद्वारा निर्देशित यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। यो चलचित्र अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति हो। निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की, र सह-निर्माता अनीश भुसाल छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech