रेशम फिलिलीको सिक्वल फागुनमा, ‘फेरि जालमा’ गीतले थप रोमान्चकता थप्ने

फिल्मी फण्डा । २०७१ सालमा एउटा सामान्य चलचित्र रेशम फिलिलीको गीत ‘जालमा – पारी त्यो डाँडा’ले अप्रत्याशित रूपमा संगीत र चलचित्र क्षेत्रमा नयाँ अध्याय सुरु गर्‍यो। कुनै प्रचारबिना रिलिज भएको यो गीतले यूट्यूबमा दर्शकहरूलाई आकर्षित गर्दै नेपाली गीतको लोकप्रियता मापन गर्ने नयाँ ट्रेन्ड स्थापित गर्‍यो।

‘जालमा’ गीतको अपार सफलताले डेब्यु निर्देशक प्रनव जोशीको यो चलचित्रलाई दर्शकबीच निकै प्रतिक्षित बनायो। २०७२ साल वैशाख ११ मा रिलिज भएको चलचित्रले आक्रामक व्यापारको सुरुवात गरे पनि भूकम्पले प्रदर्शनमा अवरोध पुर्‍यायो।

झन्डै दशकपछि, रेशम फिलिली आफ्नो सिक्वलमार्फत दर्शकमाझ पुनः आउने तयारीमा छ। फागुन १४ मा प्रदर्शन हुने यो सिक्वलले पुरानो ‘जालमा’ गीतको झल्को दिलाउँदै ‘फेरि जालमा’ नामक गीतमार्फत प्रचारलाई नयाँ मोड दिएको छ।

यो गीत पुरानै टोलीद्वारा तयार पारिएको छ। कालीप्रसाद बाँस्कोटाको संगीत, मानस राजको शब्द, र कालीप्रसाद र सोमिया बराइलीको स्वरमा तयार भएको गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन्। यस गीतको छायांकन शिवराम श्रेष्ठले गरेका छन्। निर्माण पक्षले यसलाई ‘जालमा’ जस्तै लोकप्रिय बनाउने विश्वास लिएको छ।

सिक्वलमा विनय श्रेष्ठ र सुपुष्पा भट्ट मुख्य भूमिकामा छन्। उनीहरूसँगै नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, र रविन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्देशक निरोज महर्जन हुन् भने रौनक विक्रम कडेल निर्माता रहेका छन्।

चलचित्रको छायांकन सुसन प्रजापतीले गरेका हुन्। द्वन्द्व निर्देशन नरेश किङ्ग योगीले सम्हालेका छन्। कालीप्रसाद बाँस्कोटा, एसडी योगी, र हर्क साउदको संगीतले सिनेमालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसनले चलचित्र वितरणको जिम्मा लिएका छन्। ‘फेरि जालमा’ गीतको लोकप्रियतासँगै सिक्वलले दर्शकहरूलाई रोमान्चित तुल्याउने अपेक्षा गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech