फिल्मी फण्डा । अभिनेत्री तथा निर्मात्री निशा अधिकारी फिल्म निर्माणमा पुनः सक्रिय भएकी छन्। झ्यानाकुटीपछि उनले निर्माण गर्न लागेको नयाँ फिल्म ´माया प्रीति`को शुक्रबार औपचारिक रूपमा घोषणा गरिएको छ। फिल्म वन टू थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुने भएको छ ।
फिल्मको निर्देशन अवि श्रेष्ठले गर्नेछन्, जो यस प्रोजेक्टमार्फत निर्देशनमा डेब्यु गर्दैछन्। उनले यसअघि एचबिओलगायतका अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका छन्। श्रेष्ठका अनुसार, माया प्रीति प्रेमको यस्तो कथा हो, जसले सहज र असहज दुबै परिस्थितिमा प्रेमको महत्वलाई समान रूपमा प्रस्तुत गर्छ।
फिल्मको कार्यकारी निर्मातामा निशा अधिकारी र सन्तोष कुमार कार्की छन्। साथै, रेशम फिलिलीका निर्देशक प्रणव जोशी यसपटक क्रिएटिभ निर्देशकका रूपमा जोडिएका छन्।
फिल्मको निर्माण टोली नेपाल टेलिभिजनको लोकप्रिय शो प्ले इट अनमा पाँच वर्षसम्म सहकार्य गरेका अनुभवी सदस्यहरूबाट बनेको छ। शोका प्रस्तोता निशा अधिकारी र अवि श्रेष्ठ, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की, र क्रिएटिभ निर्देशक प्रणव जोशी पुनः एकसाथ काम गर्न लागेका हुन्।
माया प्रीतिबाट निर्माण यात्रा सुरु गरेको वन टू थ्री स्टुडियोजले आगामी दिनमा निरन्तर फिल्म निर्माण गर्ने लक्ष्य राखेको छ ।फिल्मले प्रेमलाई सहज परिस्थितिमा मात्र नभई असहज समयमा पनि कसरी बचाउन सकिन्छ भन्ने कथालाई सजीव रूपमा प्रस्तुत गर्ने प्रयास गर्नेछ। निर्माण पक्षका अनुसार, यो फिल्मले नयाँ पुस्तालाई आकर्षित गर्नेछ।
माया प्रीतिले निशा अधिकारीलाई सफल निर्मात्रीका रूपमा पुनः स्थापित गर्दै नेपाली फिल्म उद्योगमा नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।