फिल्मी फण्डा । सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा नेपाली फिल्म 'एक्टर: टेक वन' को ग्रान्ड प्रिमियर सम्पन्न भयो। प्रिमियर शोमा लगभग सात सय दर्शक उपस्थित थिए, जसमा सिनेमा क्षेत्रका चर्चित कलाकारहरू, पत्रकार र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू सामेल थिए।
प्रमुख कलाकारहरू प्रदिप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा र दिव्या रायमाझीको आकर्षक उपस्थिति सबैको ध्यानको केन्द्रबिन्दु बन्यो। सबैले फिल्मको विषयवस्तु, नवीन प्रस्तुति र कलाकारहरूको दमदार अभिनयको खुलेर प्रशंसा गरे। निर्देशक राजन भुसालको पहिलो निर्देशकीय सिनेमा भएकाले पनि दर्शकको धेरै अपेक्षा रहेको छ।
निर्माता पक्षले 'एक्टर: टेक वन' लाई नेपाली फिल्म उद्योगमा नयाँ तरङ्ग ल्याउने विश्वास व्यक्त गरेका छन्। निर्देशक भुसालले प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताएका छन्।
सिनेमा अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति हो। आकाश बराल र राजन भुसालले लेखेको यस सिनेमामा थमन कुमार भण्डारी निर्माता, मोती कार्की क्रियटिभ प्रोड्युसर र अनीश भुसाल सह-निर्माता रहेका छन्। फिल्म माघ १६ गते सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ।