सुरेन्द्र पौडेलको नयाँ फिल्म ‘वरिष्ठ बलराम’को घोषणा

फिल्मी फण्डा । निर्देशक सुरेन्द्र पौडेलले आफ्नो चौथो फिल्म ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन्। वसन्त पंचमी तथा सरस्वती पूजाको अवसर पारेर सोमबार उनले फिल्मको लोगो सार्वजनिक गर्दै जानकारी दिएका हुन्।

महेश दवाडीद्वारा लेखिएको यो फिल्म सामाजिक कथावस्तुमा आधारित हुनेछ। फागुनको पहिलो साताबाट छायांकन सुरु गर्ने योजना छ भने फिल्म २०८२ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

हालसम्म दयाहाङ राई र विजय बराल मात्र फाइनल भएका छन्। केही दिनमै सार्वजनिक हुने टिजरमार्फत अन्य कलाकारको नाम खुलाइने बताइएको छ।

तराईका विभिन्न लोकेसनमा छायांकन हुने फिल्मलाई वृषभ सिद्धी इन्टरटेनमेन्टले निर्माण गर्नेछ।

संपादकबाट निर्देशक बनेका पौडेलले ‘आभास’मार्फत निर्देशन यात्रा सुरु गरेका थिए। त्यसपछि उनले ‘कृ’ (अनमोल केसी) र ‘बाबरी’ (धीरज मगर) निर्देशन गरेका छन्। ‘मेरो एउटा साथी छ’ फिल्मबाट सम्पादन यात्रामा प्रवेश गरेका पौडेल नेपाली फिल्म क्षेत्रमा सफल सम्पादक र निर्देशकका रूपमा परिचित छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech