जनकपुरधाममा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव: ११४ बढी देशका फिल्महरुको प्रदर्शन

फिल्मी फण्डा ।  जनकपुरधाम , मधेश प्रदेशको राजधानी, अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारीमा जुटेको छ। संवाद फाउन्डेसनले आगामी फागुन १६ गतेदेखि १८ गतेसम्म तीन दिन जनकपुरमा महोत्सवको आयोजना गर्न लागेको हो। यो महोत्सवले नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी तथा फिल्म संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच महोत्सवको बारेमा जानकारी गराइयो। संवाद फाउन्डेसनका प्रमुख कुमार भास्करका अनुसार महोत्सवमा अहिलेसम्म ११४ बढी देशका फिल्महरुले आवेदन दिएका छन्। भास्कर फिल्म ‘कौसीद’का निर्देशक पनि हुन्। 

जनकपुरको मैथिली भवनमा हुने महोत्सवमा इन्टरनेशनल पानोरामा, नेपाली पानोरामा र स्टूडेन्ट पानोरामा जस्ता श्रेणीमा फिल्म प्रदर्शन गरिने छ। आयोजक संस्थाका प्रमुख भास्करले केही दिनमै महोत्सवमा प्रदर्शन हुने फिल्महरुको लाइनअप सार्वजनिक गरिने जानकारी दिए। महोत्सवमा फिल्म प्रदर्शनसहित कार्यशाला तथा मास्टर क्लासहरु पनि राखिनेछ।

चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डिसीले महोत्सवले नेपाली र मिथिला फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। त्यस्तै, अभिनेत्री रेखा थापाले मिथिला सभ्यता कला र महिलाको जननी भएको बताउँदै महोत्सवले त्यस महत्त्वलाई थप उजागर गर्नेमा विश्वास व्यक्त गरिन्।

महत्वपूर्ण सांस्कृतिक तथा चलचित्रात्मक घटनाको रूपमा रहेको यो महोत्सवले नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech