फिल्मी फण्डा । नेपालको प्रमुख मल्टिप्लेक्स हलहरूमा फिल्म ‘जुनाः एक व्यथा’को बुकिङ खुला भएको छ। दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेञ्चुरीको निर्देशनमा बनेको यो फिल्म आगामी शुक्रबार रिलिज हुँदैछ। फिल्म बाल विवाह र महिला हिंसा विरुद्ध सन्देश दिनको लागि निर्माण गरिएको हो।
नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १० शो र उपत्यका बाहिर १४ शो राखेको छ। यसका अतिरिक्त अन्य विभिन्न सिनेमा हलहरूमा पनि फिल्मका शोहरू उपलब्ध छन्।
फिल्ममा प्रमुख कलाकारहरू अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपाने रहेका छन्। राजबहादुर सानेको कथा र जीवन सेञ्चुरीको निर्देशन रहेको यस फिल्मको संगीत बीबी अनुरागी र रमेश सेञ्चुरीको छ।
निर्माता दीपकप्रसाद घिमिरेले फिल्मको बुकिङ अत्यन्तै सकारात्मक रहेको र दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त भएको जानकारी दिएका छन्।
यस फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन्।