फिल्मी फण्डा। चर्चित फिल्म ‘झिँगेदाउ’को सिक्वेल निर्माणको घोषणा गर्दै निर्देशक ज्ञानेन्द्र देउजाले नयाँ परियोजना सुरु गरेका छन्। सोमवार भएको एक कार्यक्रममा संगीतकार अर्जुन पोखरेललाई पुनः संगीत निर्देशनको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ गरिएको छ।
सिक्वेलमा प्रमुख कलाकारहरूको पुनरागमन हुने जानकारी दिँदै, अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल र कुशल बिष्टले पुनः अभिनय गर्नेछन्। यसका अतिरिक्त, सिक्वेलमा थप एक अभिनेता र एक अभिनेत्री समावेश गरिने छ।
निर्देशक देउजाले फिल्मको पहिलो भाग जहाँ समाप्त भएको थियो, सोही बिन्दुबाट कथालाई अघि बढाउने योजना छ। निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजाले निर्माण गर्ने यस सिनेमालाई कपनगढी सिनेमा प्रालीको व्यानरमा बनाइनेछ।
फिल्मको छायांकन बिष्णु कल्पितले, द्धन्द्व निर्देशन रोशन श्रेष्ठले, र सम्पादन मित्र डि. गुरुङले गर्नेछन् भने, संगीतमा अर्जुन पोखरेलको साङ्गीतिक निर्देशन हुनेछ। बैशाख दोस्रो हप्तादेखि फ्लोरमा जाने तयारीमा रहेको यो सिनेमालाई २०८२ सालभित्र प्रदर्शन गर्ने योजना निर्माण टिमले बनाएको छ।