प्रकाश सपूत र परीक्षा लिम्बूको ‘सोल्टिनी’ छायांकन सकियो

फिल्मी फण्डा। फिल्म ‘सोल्टिनी’ को छायांकन ३६ दिनमा पूरा भएको छ। अभिनेता तथा गायक प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बू मुख्य भूमिकामा रहेको यो फिल्म पूर्वी नेपालका विभिन्न स्थानमा खिचिएको हो।

निर्देशक अर्जुन सुवेदी का अनुसार फिल्मको अन्तिम दृश्य भोजपुरको अन्नपूर्ण गाउँ मा मंगलबार खिचिएको थियो। सुवेदीले फिल्म निर्माणका लागि पर्याप्त तयारी भएकाले छायांकन निर्धारित समयमा सकिएको बताए। “सशक्त कथा, अनुभवी कलाकार र कुशल प्राविधिक टिमको मेहनतकै कारण समयमै छायांकन पूरा गर्न सक्यौं,” उनले भने।

फिल्ममा प्रकाश सपूत ‘भीमसेन पोखरेल’ र परीक्षा लिम्बू ‘दिलासा राई’ को भूमिकामा छन्। उनीहरूको प्रेमकथाले समाजमा अझै पनि रहेको जातीय भेदभाव र सामाजिक असमानताविरुद्ध आवाज उठाउने बताइएको छ।

विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायत कलाकारहरूको पनि अभिनय रहेको फिल्मको छायांकन सुशन प्रजापति ले गरेका छन्। संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेत को रहेको छ।

निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईं रहेको ‘सोल्टिनी’ असोज ३ (संविधान दिवस) मा प्रदर्शनमा आउने तय गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech