भावनात्मक कथा बोकेको ‘रङ्गी’को प्रिमियर सम्पन्न, दर्शकले गरे सकारात्मक प्रतिक्रिया

फिल्मी फण्डा। फाल्गुन २ अर्थात भोलि देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गी’ को विशेष प्रिमियर बुधबार साँझ काठमाडौंमा सम्पन्न भएको छ । पारिवारिक सम्बन्धमा आधारित यो फिल्मले उपस्थित दर्शकलाई भावुक बनाएको छ। अधिकांशले चलचित्रको कथा, अभिनय र प्रस्तुतिको खुलेर प्रशंसा गरे।

फिल्म बाबु-छोरीको सम्बन्ध वरिपरि घुम्छ। अभिनेता सलोन बस्नेतको निर्माण र प्रस्तुति रहेको यो चलचित्रमा पारिवारिक माया, समर्पण र सम्बन्धका उतारचढाव देखाइएको छ। सुरेश न्यौपानेले निर्देशनमा डेब्यु गरेको यस फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

प्रिमियरमा दीपाश्री निरौला, निर्मल शर्मा, दीपक आचार्य, भरतमणि पौडेल, गम्भीर विष्ट, ज्ञानेन्द्र देउजा लगायत कलाकार र प्राविधिक सहभागी थिए। उनीहरूले कथावस्तु, पात्रको जीवन्त अभिनय र प्रविधिको प्रयोगप्रति सन्तोष व्यक्त गरे।

चलचित्रमा सलोन बस्नेतसँगै नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ। पटकथा सुमन गजमेरले लेखेका हुन्।

संगीततर्फ दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत सुन्न पाइन्छ। गीतमा आनन्द कार्की, समीक्षा अधिकारी, सुजता केसी, आमेश भण्डारी र भीम बिसीको स्वर छ।

‘रङ्गी’ यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ। निर्माता तथा कलाकार बस्नेतले दर्शकलाई पारिवारिक भावना बोकेको सन्देशमूलक चलचित्र हेर्न हलसम्म आइदिन अनुरोध गरेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech