फिल्मी फण्डा। सामाजिक सञ्जालमा भाइरल हुन जे पनि गर्ने प्रवृत्तिलाई व्यंग्य गर्दै निगम श्रेष्ठ निर्देशित सिनेमा ‘भाइरल गोर्खे’ आउँदैछ। फागुन २ गते, भ्यालेन्टाइन डेको अवसरमा सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमार्फत निर्माण टिमले आगामी जेठ ३० गतेलाई प्रदर्शन मिति तय गरेको छ।
सार्वजनिक पोस्टरहरूमा अभिनेता सौगात मल्ललाई सामाजिक सञ्जालमा लाइभ स्ट्रीमिङमा देखाइएको छ। अर्को पोस्टरमा उनी अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा देखिन्छन्। यी दृश्यहरूले भाइरल हुनका लागि गरिने हदबन्दी नाघ्ने प्रयास र त्यसले निम्त्याउने प्रभावबारे संकेत गर्छन्।
निर्देशक श्रेष्ठ भन्छन्, “भाइरल हुनका लागि जे पनि गर्ने प्रवृत्ति नेपालमा गहिरिँदै छ। हाम्रो सिनेमा यही विषयलाई केन्द्रमा राखेर बनाइएको हो।”
‘भाइरल गोर्खे’ले सामाजिक सञ्जालमा भाइरल बन्न गरिने विभिन्न हर्कत र त्यसको सामाजिक प्रभावलाई पर्दामा उतार्नेछ। सिनेमामा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ। बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र ऋषि धमलाका भूमिका पनि महत्त्वपूर्ण छन्।
विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता हुन् भने भुवन अधिकारी र निखिल पौडेल सह-निर्मातामा छन्। अमर महर्जनको छायांकनमा लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा छायांकन सम्पन्न भएको छ।
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको यो सिनेमा सामाजिक सञ्जालमा भाइरल बन्न गरिने हर्कत, त्यसले समाजमा पार्ने प्रभाव र परिणामलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्ने तयारीमा छ।