फिल्मी फण्डा। “धन ठुलो कि मन?” यही प्रश्नलाई केन्द्रमा राखेर निर्माण हुन लागेको फिल्म ‘मन बिनाको धन’ को शुभमुहूर्त सम्पन्न भएको छ। गायक तथा संगीतकार टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको यो सिनेमा शुक्रबार कोटेश्वर महादेव मन्दिरमा पूजा गर्दै औपचारिक रूपमा शुभारम्भ गरिएको हो।
मुहूर्त कार्यक्रममा कलाकार सरोज खनालले क्ल्याप हाने, युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फुटाए भने बाल गायक अशोक दर्जी र अभिनेता सन्तोष पन्तले मुहूर्त शट दिएका थिए। शुभमुहूर्तसँगै आजैदेखि सिनेमाको छायांकन सुरू गरिएको छ।
बाल गायक अशोक दर्जीलाई चर्चामा ल्याउने गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ ले अब उनी अभिनीत सिनेमालाई पनि नाम दिएको छ। यही गीतले अशोकको जीवनमा मात्र होइन, नेपाली सांगीतिक क्षेत्रमा पनि तरंग ल्याएको थियो। अब भने उनी फिल्मको पर्दामा अभिनय क्षमताले दर्शकको मन जित्न तयार छन्।
“गीतले अशोकको जीवनमा ठूलै मोड ल्यायो। अब फिल्ममा पनि उनको कथा प्रस्तुत गर्ने प्रयास गरेका छौँ,” निर्देशक बुढाथोकी बताउँछन्।
कक्षा ८ मा अध्ययनरत अशोकका लागि यो डेब्यू सिनेमा विशेष छ। भाइरल गायकको परिचयबाट फिल्म अभिनेताको रूपमा परिवर्तन हुने यात्रा उनका लागि चुनौतीपूर्ण र रोमाञ्चक दुवै हुने देखिन् ।
सिनेमामा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, बुद्धि तामाङ, भोला सापकोटा, रमेश विश्वकर्मा, रविन्द्र झा र उत्सव सापकोटाको अभिनय रहनेछ।
सामाजिक विषयवस्तुमा आधारित फिल्म भएकाले कलाकार चयनमा विविधता अपनाइएको निर्देशक बुढाथोकीले बताए। धनको मोह र मनको महत्वको द्वन्द्वलाई कथाको केन्द्रविन्दुमा राखिएको छ।
टंक बुढाथोकीकै कथामा आधारित सिनेमाको पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका छन्। निर्माण टिममा विष्णुमाया मैनाली प्रमुख निर्मात्री छिन् भने जीपी संग्रौला, लक्ष्मी गिरि, विवेक नेपाल र विजया पाण्डे सह-निर्माताका रूपमा छन्। मिनु शर्मा (सपना) कार्यकारी निर्माताको भूमिकामा छिन्।
सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्मा सहायक निर्देशकका रूपमा छन्। साथै, अरुण रेग्मी र अर्जुन पोखरेल प्रोडक्शन म्यानेजरको जिम्मेवारीमा छन्।
सिनेमाको वितरण अधिकार बैंकटेश इन्टरटेन्मेन्टले लिएको छ। निर्माण टिमका अनुसार फिल्मको छायांकन समयमै सक्ने र प्रदर्शन मिति चाँडै घोषणा गर्ने योजना छ।