फिल्मी फण्डा। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘दुखी आत्मा’ आजबाट देशभरका हलहरूमा प्रदर्शनमा आएको छ। बिहीबार आयोजित प्रिमियरमा फिल्मलाई गज्जब तर फरक प्रतिक्रिया प्राप्त भएको थियो।
प्रिमियरमा फिल्मकर्मी, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति देखियो। उपस्थितमध्ये धेरैले फिल्मको कथावस्तु र प्रस्तुति प्रभावकारी रहेको प्रतिक्रिया दिए।
सिनेमाले पुरुषमा देखिने ‘इडी’ (Erectile Dysfunction) रोगको कथालाई पर्दामा प्रस्तुत गरेको छ। समाजमा यौन समस्याबारे खुलेर बोल्न नसक्ने मानसिकतालाई फिल्मले उजागर गर्छ। कवितामार्फत प्रेम र सम्बन्धको संवेदनशील पक्ष दर्शाउँदा दर्शकहरू भावुक बनेका थिए।
दयाहाङ राई र आँचल शर्मा प्रमुख भूमिकामा छन् भने अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले र रेअर राईले अभिनयमा साथ दिएका छन्।
फिल्म हेरेपछि धेरैले कलाकारको अभिनयको स्वाभाविकता र संवादको गहिराइको प्रशंसा गरे।
ट्रेलर र टिजर हेरेर फिल्मलाई ‘एडल्ट’ वर्गमा राख्नेहरूलाई कथा र प्रस्तुतिले चकित पारेको थियो। "फिल्मले यौन समस्या मात्र होइन, मानसिक, सामाजिक र पारिवारिक तनावको यथार्थ पक्ष पनि देखाएको छ," एक दर्शकले प्रतिक्रिया दिए।
हिमाल कडरियाको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता सुदीप ढकाल हुन्। प्रिमियरमा निर्देशक नवीन सुब्बा, दीपाश्री निरौला, कथावाचक साइग्रेस पोखरेल, मोडल उषा उप्रेती लगायतले निर्देशक दीपेन्द्र लामाको प्रशंसा गरे।
प्रेम दिवसको अवसर पारेर रिलिज गरिएको यो फिल्मले प्रेम र यथार्थलाई नयाँ कोणबाट प्रस्तुत गर्ने प्रयास गरेको छ। युवापुस्ताले हलसम्म खिचिने विश्वास निर्माण टिमको छ।
अब भने, दर्शकले फिल्मलाई बक्स अफिसमा कत्तिको सफल बनाउने हुन्, त्यो केही दिनमा थाहा हुनेछ।