फिल्मी फण्डा। नेपाली साइन्स फिक्सन फिल्म ‘एक्लो’ ले आफ्नो पहिलो क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा अभिनेता सुरज सिंह ठकुरीलाई ‘काल’ को भूमिकामा डरलाग्दो रूपमा प्रस्तुत गरिएको छ। उनको गम्भीर हेराइ र तिखो लुक्सले फिल्मप्रति कौतुहलता थपेको छ।
सुरज सिंह ठकुरी कमै फिल्ममा देखिए पनि हरेक भूमिकामा आफ्नो गहिरो छाप छोड्ने अभिनेता मानिन्छन्। ‘एक्लो’ मा उनको चरित्र झन् रहस्यमयी र दमदार देखिन्छ।
फिल्मको निर्देशन प्रदीप शाहीले गरेका छन्। बेलायतमा बसोबास गर्दै आएका शाही ‘एक्लो’ लाई हलिउड स्तरको सिनेमा बनाउने लक्ष्यसहित अघि बढेका छन्। यो उनको तेस्रो निर्देशकीय परियोजना हो। हाल लण्डनमा पोस्ट-प्रोडक्सन कार्य तीव्र रूपमा चलिरहेको छ। प्रदर्शनी मिति सम्पूर्ण काम सकिएपछि मात्रै घोषणा गरिने निर्देशक शाहीले बताएका छन्।
फिल्ममा चर्चित कलाकारहरूको लहर छ। प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहदेखि बेलायती अभिनेता जेमी बेकनसम्म फिल्ममा देखिनेछन्।
फिल्मलाई गुणस्तरीय बनाउन अनुभवी प्राविधिक टिम जुटाइएको छ। निर्माता टोलीमा राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा र बागवीर पुन छन्। कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।
छायांकन बाबु श्रेष्ठले सम्हालेका छन्। द्वन्द्व निर्देशन राजु तामाङको छ भने, सेट डिजाइन राजु पेन्टरले गरेका छन्। कला निर्देशन सन्तोष लामाले सम्हालेका छन्, र प्रोडक्सन डिजाइन द्रोण प्रसाद पौडेल ‘ठेउके’ ले गरेका छन्।
साइन्स फिक्सन शैलीमा तयार भइरहेको यो फिल्मले दर्शकलाई भिजुअल र कथाको नयाँ अनुभव दिने अपेक्षा गरिएको छ। काल पात्रको रहस्य र प्रविधिसँग मिसिएको कथा ‘एक्लो’ लाई पक्कै विशेष बनाउनेछ।