फिल्मी फण्डा। 'यो मन त मेरो नेपाली हो' फिल्मको प्रदर्शन मिति निश्चित गरिएको छ। निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले घोषणा गरेका छन् कि यो फिल्म २०८२ साल असार २७ गते (जुलाई ११, २०२५) देखि दर्शकहरूको लागि प्रदर्शन हुनेछ। यस फिल्मलाई आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्नेछ।
यो फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन "मन्त्री", सुबास भन्डारी, विजय सुब्बा, बिजिता बर्देवा र देवराज राजबन्शी जस्ता कलाकारहरूको अभिनय रहेको छ।
फिल्मलाई अमेरिकामा रहेका साहित्यकार नर प्रधान (मित्र) ले निर्देशन र लेखन गरेका छन्। यो फिल्म ज्ञान बहादुर प्रधान (रोशन) को निर्माणमा बनेको हो। पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि. र नर प्रधानको प्रस्तुतिमा निर्मित यो फिल्मले विदेशमा रहेका नेपालीहरूको मुद्दालाई उजागर गर्दै नेपाली भाषा, साहित्य, कला, इतिहास र नेपाली पहिचानको महत्वलाई दर्शाउन खोजेको छ।
फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन्। संगीतकारहरूमा दीपक शर्मा, विकास चौधरी र तोरम्पा हाङ राई रहेका छन्। सौरभ लामाले छायांकन, बनिश शाहले सम्पादन, देव महार्जनले द्वन्द्व निर्देशन, रेनिश फागोले रंगसज्जा, र कविराज गहतराज र प्रमोद भण्डारीले कोरियोग्राफी गरेका छन्।
नेपाली भाषा, कला र संस्कृतिको यो फिल्मले नेपाली फिल्म प्रेमीहरूको ध्यान खिच्न सक्ने अपेक्षा गरिएको छ।