पाटन उच्च अदालतद्वारा ‘लाज शरणम’ फिल्मको प्रचारमा रोक

फिल्मी फण्डा। पाटन उच्च अदालतले फिल्म ‘लाज शरणम’को प्रचारप्रसारमा अन्तरिम आदेश जारी गरेको छ। मंगलबार न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको इजलासले पूर्वमन्त्री मोहम्मद अफताव आलमको रिट निवेदनमाथि सुनुवाइ गर्दै यो आदेश दिएको हो।

आलमले आफ्नो अनुहारजस्तो हाउभाउ र शैली बिना अनुमति फिल्ममा प्रयोग भएको भन्दै चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। अदालतले, आलामको अधिकार हनन हुन सक्ने देखिएकाले, केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिएसम्म प्रचार रोक्न आदेश दियो।

अदालतले फिल्मसम्बन्धी कुनै पनि प्रचार सामग्री सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा प्रकाशन नगर्न निर्देशन दिएको छ।

जेपीटी क्रिएसनद्वारा निर्मित ‘लाज शरणम’ फागुन १४ गते शिवरात्रिमा प्रदर्शन गर्ने तयारी थियो। बुधबार सार्वजनिक गर्ने भनिएको ट्रेलरसमेत अदालतको आदेशपछि प्रभावित बनेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech