तक्मे बुढा र माग्ने बुढा एकै पर्दामा: ‘माग्ने राजा’मा विल्सनविक्रम राईको धमाकेदार इन्ट्री

फिल्मी फण्डा। लोकप्रिय अभिनेता विल्सनविक्रम राई अब ‘माग्ने राजा’ को कलाकारहरूको सूचीमा औपचारिक रूपमा सामेल भएका छन्। मङ्गलवार निर्माण टिमले उनलाई अनुबन्ध गरेसँगै केदार घिमिरे (माग्ने बुढा) र विल्सनविक्रम राई (तक्मे बुढा) को चर्चा गरिएको जोडी दशकपछि पुनः सँगै देखिनेछ।

यसअघि यो चर्चित जोडीले ‘राम कहानी’ चलचित्रमा एकसाथ काम गरेका थिए। त्यसयता दुवैलाई एउटै फिल्ममा ल्याउने प्रयास भए पनि सफल भएको थिएन। तर ‘माग्ने राजा’ मा उनीहरूको भूमिका निर्माण भएपछि दर्शकले फेरि यो जोडीलाई ठुलो पर्दामा देख्न पाउनेछन्।

तक्मे बुढाको रूपमा चर्चित भएका विल्सनविक्रम राईका लागि केदार घिमिरे विशेष व्यक्ति हुन्। ‘मेरी बास्सै’ टेलिशृंखलामा अभिनयको अवसर दिलाउनुका साथै ‘तक्मे बुढा’ नामकरणसमेत घिमिरेले नै गरेका थिए। यही कारण राईले घिमिरेलाई आफ्नो गुरु मान्दै आएका छन्।

अनुबन्धपछि केदार घिमिरेले लामो समयपछि हुन लागेको सहकार्यप्रति निकै उत्साहित रहेको बताए। ‘हामी दुवै जना एक अर्कासँग काम गर्न निकै उत्सुक थियौँ, तर परिस्थिति अनुकूल बन्न सकेको थिएन। अन्ततः ‘माग्ने राजा’ ले त्यो अवसर जुटाइदिएको छ,’ उनले भने।

विल्सनविक्रम राईले पनि पुराना दिनहरू सम्झँदै खुसी व्यक्त गरे। ‘हामीले टेलिभिजन मात्र होइन, विदेशका थुप्रै स्टेज शो पनि सँगै गरेका छौँ। चलचित्रमा भने त्यति धेरै सहकार्य गर्ने मौका पाएका थिएनौँ। अब ‘माग्ने राजा’ ले त्यो अपूरो चाहना पूरा गरिदिएको छ,’ उनले भने।

ऋषि लामिछानेको निर्देशनमा बन्ने ‘माग्ने राजा’ मा वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, पुष्कर गुरुङलगायत कलाकार पनि अभिनय गर्दैछन्। मुनाल घिमिरेको निर्माणमा आरम्भ प्रोडक्सनले प्रस्तुत गर्न लागेको यो चलचित्रको छायाङ्कन शिवरात्रिदेखि सुरु हुनेछ। चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गर्नेछन् भने पटकथा सामीप्य राज तिमल्सेनाले तयार पारेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech