फिल्मी फण्डा। फिल्म ‘ताण्डवम्’ अन्ततः सेन्सर पास भएको छ। अत्याधिक हिंसात्मक दृश्यका कारण रोकिएको यो फिल्मलाई निर्माण टिमले दृश्यहरू काटेर पुनः प्रस्तुत गरेको थियो। निर्देशक जुनिम गहतराजका अनुसार, काँटछाँट पश्चात केन्द्रीय चलचित्र जाँच पास समितिले पिजी सर्टिफिकेट दिएको छ। अब, यो फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथ लिनुपर्नेछ।
पहिलो सेन्सरमा २ घण्टा ६ मिनेट लामो रहेको फिल्म दोस्रो सेन्सर पश्चात १ घण्टा ५६ मिनेटको भएको छ। करिब १० मिनेटको दृश्य हटाइएको छ। निर्देशक गहतराजले भने, “हामीले राम्रो सिनेमा दर्शकलाई पस्किने प्रयास गरेका छौं। दर्शकले पनि मन पराउने विश्वास छ।”
सिनेमाको सेन्सर पाससँगै, आजैबाट अग्रीम टिकट बुकिङ सुरु गरिएको छ। शुक्रबार, फागुन ९ गतेबाट सिनेमा देशभरका सिनेमा घरमा रिलिज हुनेछ।
फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालले अभिनय गरेका छन्। यो फिल्म एक नव विवाहित जोडीको कथा हो, जसले आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहेका छन् र जीवनमा घट्ने अकल्पनीय घटनासँग जुध्नुपर्दा हुने उतारचढावलाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण गरेको यो फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्। हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याकग्राउण्ड म्युजिक रहेको छ। कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका छन्।