फिल्मी फण्डा। ‘कल्ली’ को छायांकन आजबाट काठमाडौंको बौद्धमा सुरु गरिएको छ। केही दिन काठमाडौंमा सुटिङ गरेपछि निर्माण टिम जुम्ला जानेछ।
३५ दिनको सेड्यूलका साथ निर्देशक लक्ष्मण सुनारले छायांकन थालेका हुन्। पहिलो दिन नाजिर हुसेन, वर्षा राउत, उत्तम प्रधान लगायतको दृश्य खिचियो। लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सन को संयुक्त ब्यानरमा निर्माण भइरहेको यस प्रोजेक्टमा हिमाल कडरिया र अमलादेवी राईले लगानी गरेका छन्।
महेश दवाडीको लेखनमा तयार भइरहेको यसमा कार्यकारी निर्माता सरोज नेपाली छन्। कलाकारहरूमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली रहेका छन्।
प्रस्तुतकर्ता किरण नेपाली हुन् भने निसाल पौडेलले छायांकनको जिम्मा लिएका छन्।
उत्तम प्रधानले करिब १३ वर्षपछि यो प्रोजेक्टमार्फत कमब्याक गर्न लागेका छन्। उत्साहित उनले भने, "कथावस्तु निकै मन परेर रोजेको हुँ। यसअघि जस्ता भूमिकाभन्दा यो फरक छ। बिचमा थुप्रै अफर आए पनि मन नपरेर काम गरिनँ।"
सुटिङ सेटमा भेटिएका नाजिर हुसेन र वर्षा राउतले आफूहरू श्रीमान्–श्रीमतीको भूमिकामा देखिन लागेको खुलाए। प्रदर्शन मिति भने अहिलेसम्म तय गरिएको छैन।