‘न्याय’ शिर्षकमा ‘आउटलः दफा २१९’को ‘र्याप प्रतियोगीता’

फिल्मी फण्डा। अगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ दर्शकहरुका लागि प्रतिक्षित छ । यो फिल्मको टिजर सार्वजनिक भएसँगै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए । फिल्मको ट्रेलर केही दिनमा रिलिजमा आउँदैछ । यसैबिच, यसको निर्माणपक्षले ‘न्याय’ शिर्षकमा ‘र्याप प्रतियोगीता’ आयोजना गरेको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको यो फिल्मको ‘र्याप प्रतियोगीता’मा सहभागी हुन चाहनेले ‘न्याय’ शिर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन् ।

प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउन सक्ने निर्माण टिमले बताएको छ । प्रतिस्पर्धीले पठाएको भिडियो फिल्मको सामाजिक संजालमा एकाउन्टमा पोष्ट गरिनेछ । सर्वाधिक धेरै लाइक र भ्यूज प्राप्त गर्न सफल प्रतिस्पर्धीले पुरस्कार प्राप्त गर्ने निर्माणपक्षले बताएको छ । फागुनको २३ गतेसम्म गीतको भिडियो तयार पारेर पठाउनुपर्नेछ ।

यो फिल्मले ‘न्याय’को कथा बोल्ने भएकाले गर्दा नै यही शिर्षकमा प्रतियोगीता आयोजना गरिएको फिल्मका निर्माता अमित अग्रहरिले जानकारी दिए ।विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा विनोद कठायत कार्यकारी निर्माता, विकास चौधरी सह–निर्माताको रुपमा छन् ।
फिल्ममा साहिल खानको सम्पादन, चुल्ठे काजीको एक्सन, नविन गुरुङको छायांकन छ । यो फिल्ममा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech