फिल्मी फण्डा। नेपालको चलचित्र बजारमा आजबाट तीन नयाँ फिल्मको भिडन्त सुरु भएको छ। महाशिवरात्रिको अवसर पारेर लाज शरणम्, फेरि रेशम फिलिली र मायावी एकैदिन प्रदर्शनमा आएका छन्। यी तीन फिल्म फरक शैलीका भए पनि, दर्शकले कुनलाई प्राथमिकता दिनेछन् भन्ने अबको केही दिनमा थाहा हुनेछ।
लोकप्रिय टेलिशृंखला सक्किगोनि को टिमले निर्माण गरेको लाज शरणम् हास्यप्रधान चलचित्र हो। कुमार कट्टेल निर्देशित यो फिल्ममा सीताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्पण थापा, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) लगायत कलाकारको अभिनय छ। हास्य विधाका फिल्म मन पराउने दर्शकका लागि यो फिल्म मुख्य आकर्षण बन्न सक्छ।
सुपरहिट फिल्म रेशम फिलिली को सिक्वेलका रूपमा आएको फेरि रेशम फिलिली ले पुरानै शैलीलाई निरन्तरता दिने प्रयास गरेको छ। निरोज महर्जन निर्देशित फिल्ममा विजय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, रविन्द्र झा लगायतका कलाकार छन्। पहिलो फिल्म जस्तै यसले दर्शकलाई हसाउन सक्छ कि सक्दैन? यसको उत्तर बक्स अफिसमा भेटिनेछ।
दीवाकर भट्टराई निर्देशित मायावी प्रेमकथा, रहस्य र थ्रिलरको मिश्रण हो। फिल्ममा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, समिम खान, सुशील सिटौलालगायत कलाकार छन्। रोमान्स र रहस्य खोज्ने दर्शकका लागि मायावी राम्रो विकल्प हुन सक्छ।
अब हेर्न बाँकी छ— कमेडी, सिक्वेलको क्रेज, वा रहस्य-रोमान्स? कुन फिल्मलाई दर्शकले बढी माया गर्छन्? बक्स अफिस नतिजाले चाँडै नै यसको उत्तर दिनेछ!