ऐतिहासिक पात्र योगमायाको कथा फिल्ममा, महाशिवरात्रिमा घोषणा

फिल्मी फण्डा। महाशिवरात्रिको अवसर पारेर ऐतिहासिक पात्र योगमाया न्यौपानेको जीवनकथामा आधारित फिल्म ‘योगमाया’ निर्माणको घोषणा गरिएको छ। काठमाडौंको पशुपतिनाथ मन्दिर र भोजपुरस्थित योगमाया शक्तिपीठमा विधिपूर्वक स्क्रिप्ट पूजा गर्दै फिल्म निर्माणको थालनी गरिएको हो।

फिल्म निर्माणको शुभारम्भ भोजपुरको योगमाया समाधिस्थलबाट भयो। यहाँ दिवंगत पहलमान बस्नेतका छोरा नवराज बस्नेत, शक्तिपीठका अध्यक्ष भुपाल बस्नेत, गुरु दामोदर भण्डारी, लेखक तथा प्राविधिक निर्देशक नेत्र छन्त्याललगायतको उपस्थितिमा स्क्रिप्ट पूजा सम्पन्न गरियो।

त्यसपछि पशुपतिनाथ मन्दिरमा फिल्म टोलीले औपचारिक रूपमा निर्माण घोषणा गर्‍यो। कार्यक्रममा निर्देशक रिमेश अधिकारी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, कलाकार शिवशंकर रिजाल, लय संग्रौलालगायतले स्क्रिप्ट र पोस्टर पूजा गरे।

फिल्म ‘योगमाया’ ले राणा शासनकालमा समाज सुधारका लागि लडेकी योगमाया न्यौपानेको संघर्ष प्रस्तुत गर्नेछ। समाजमा गहिरो रूपमा रहेका छुवाछूत, बालविवाह, सतिप्रथा, दासप्रथाजस्ता कुरीतिविरुद्ध उनले आवाज उठाइन्। तर, उनको विद्रोह तत्कालीन सत्ता सहन नसक्दा अन्ततः उनले आफ्ना अनुयायीहरू सहित जलसमाधि लिएकी थिइन्।

नेपालको इतिहासमा योगमाया न्यौपानेको नाम समाज परिवर्तनका लागि लिएको कठोर निर्णयका रूपमा सम्झिन्छ। अब, यही प्रेरणादायी कथा ठूलो पर्दामा जीवन्त हुने तयारीमा छ।

 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech