फिल्मी फण्डा। सामाजिक कथावस्तुमा आधारित नेपाली फिल्म ‘वरिष्ठ बलराम’ तिहारको अवसर पारेर कात्तिक ३ गते प्रदर्शनमा आउने भएको छ। शिवरात्रिको अवसरमा सार्वजनिक टाइटल टिजरसँगै निर्माण टिमले यसको रिलिज मिति घोषणा गरेको हो।
सुरेन्द्र पौडेल निर्देशित यो फिल्ममा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङ लगायत कलाकारको अभिनय रहनेछ। निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रको पटकथा महेश दवाडी ले लेखेका छन्।
चलचित्रको छायांकन एक सातापछि सुरु हुने र तराईका विभिन्न स्थानमा हुने बताइएको छ। सिनेमाटोग्राफीको जिम्मा मन कृष्ण महर्जन ले लिनेछन्।
प्रशान्त शिवाकोटी को संगीत, सम्राट शाक्य को एक्सन निर्देशन, प्रदीप लामा को कोरियोग्राफी रहने फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकको भूमिकामा छन्।
वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘वरिष्ठ बलराम’ का निर्माता आशिस एच तामाङ र श्रीराज कार्की हुन्। निर्माण टोलीका अनुसार चलचित्र मनोरञ्जनात्मक मात्रै नभई सन्देशमूलक पनि हुनेछ।