फिल्मी फण्डा। दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहने नयाँ नेपाली चलचित्र ‘मिरमिरे’ को वर्कसप सुरु गरिएको छ ।
निर्देशक यम शेर्पाका अनुसार आइतबारबाट मुख्य कलाकारहरूलाई लिएर काठमाडौँको कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप सुरु गरिएको हो । “सुटिङमा सहजता ल्याउन, कलाकारबीचको तालमेल मिलाउन र कथा बुझेका आधारमा अभिनयमा गहिराई ल्याउन वर्कसपको आयोजना गरिएको हो,” निर्देशक शेर्पाले भने, “यसले छायांकन छिटो र प्रभावकारी बनाउन सघाउनेछ ।”
‘मिरमिरे’ यही शुक्रबारबाट छायांकनमा जाने तयारीमा रहेको छ । चलचित्रको अधिकांश भाग काभ्रेपलाञ्चोक जिल्लामा छायांकन हुनेछ ।
यस चलचित्रमार्फत गायक तथा अभिनेता प्रकाश सपूत र अभिनेता दयाहाङ राई पहिलोपटक एउटै पर्दामा देखिँदै छन् । निर्देशक यम शेर्पाको निर्देशनमा दयाहाङले यसअघि चलचित्र ‘कार्साङ’ मा काम गरिसकेका छन् ।
यार्सा फिल्म्स को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा दयाहाङ र प्रकाशसँगै सिर्जना निङलेखु, माओत्से गुरुङलगायतको अभिनय रहनेछ । चलचित्रको कथा तथा निर्देशन यम शेर्पाकै रहेको छ । यद्यपि, उनले कथावस्तु अहिले खुलाउन चाहेका छैनन् ।
चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् भने सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माता मा आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल छन् ।
‘मिरमिरे’ सन् २०२५ (वि.सं. २०८२) भित्रै प्रदर्शन गर्ने योजना गरिएको छ । प्रदर्शन मिति भने तय भइसकेको छैन । चलचित्रलाई आरआर फिल्म्स ले वितरण गर्नेछ ।