राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह राष्ट्रपति कार्यालयमा सम्पन्न

फिल्मी फ​ण्डा ।  नेपाल सरकार, चलचित्र विकास बोर्डको आयोजनामा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८२ शीतल निवासमा सम्पन्न भयो। नेपाली चलचित्र क्षेत्रका कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा समर्पित व्यक्तित्वहरूको सम्मानमा आयोजित उक्त समारोहले राष्ट्रिय गौरवसँगै चलचित्रको भविष्यप्रतिको नीतिगत दृष्टिकोण पनि प्रस्तुत गर्‍यो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल, विशेष अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थिति रहेको थियो। समारोहमा चलचित्र क्षेत्रका अग्रणी व्यक्तिहरू, संघ-संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न जातजाति, समुदायका कलाकारहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

राष्ट्रपतिले चलचित्रलाई मनोरञ्जनको सीमा भित्र मात्र नराखी सामाजिक रूपान्तरणको माध्यमका रूपमा लिनुपर्ने धारणा राखे। नेपाली मौलिक चलचित्रले समावेशी कथा, विविध जातजातिका भाषा, कला र संस्कृतिको प्रतिनिधित्व गर्न सक्ने सम्भावना उल्लेख गर्दै चलचित्रमार्फत सूचना, शिक्षा र चेतना विस्तारसँगै रोजगारी, पर्यटन र आर्थिक समृद्धिमा योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गरियो।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको तर्फबाट चलचित्र ऐनको तयारी भइरहेको जनाइयो। पहिलो नेपाली चलचित्र 'आमा' को ऐतिहासिक मूल्यलाई सम्झिँदै हलुका टिकटमार्फत हुलाक टिकटको प्रकाशन गरिएको जानकारी दिइयो। इनडोर स्टुडियो निर्माणको काम अघि बढिरहेको र आगामी दिनमा चलचित्र क्षेत्रले पर्यटन प्रवर्द्धन र सामाजिक समावेशीकरणमा विशेष योगदान दिनुपर्ने धारणा पनि राखियो।

चलचित्र विकास बोर्डले प्रस्तुत गरेको प्रतिवेदनमा विभिन्न संरचनागत सुधार, डिजिटल व्यवस्थापन र कार्यक्षमतामा आधारित योजनाहरू समावेश गरिएका छन्। सिनेपाः इनडोर स्टुडियो, सिनेपाः बक्स अफिस प्रणाली र चलचित्र विधेयकको मस्यौदासहित ३३ भन्दा बढी सेवाहरू अनलाइन प्रणालीमार्फत सुरु गरिएको उल्लेख गरिएको छ। चलचित्र इतिहासको संरक्षणका लागि ‘आमा’ चलचित्रको पोस्टरसहितको हुलाक टिकट सार्वजनिक गरिएको र देशभर निर्मित सबै चलचित्रहरूको स्क्रिप्ट डिजिटल अभिलेखमा राखेर 'स्क्रिप्ट बैंक' स्थापना गरिएको जनाइएको छ।

यस वर्ष व्यवसायिक आधारमा २५ वटा चलचित्रलाई सर्वाधिक आम्दानीको सूचिमा राखेर सम्मान गरिनु चलचित्र उद्योगको व्यवसायिक चरित्रको कदरको दृष्टिले नयाँ अभ्यास भएको उल्लेख गरियो। नेपाली चलचित्र उद्योगको दीर्घकालीन विकासका लागि दक्ष जनशक्तिको उत्पादन अपरिहार्य रहेकोले चलचित्र लेखन, निर्देशन, छायांकन, सम्पादन, अभिनयजस्ता क्षेत्रमा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिने लक्ष्य सार्वजनिक गरियो। चलचित्र विकास बोर्डले ९३ प्रतिशत बेरुजु रकम फर्छ्योट गरी आर्थिक पारदर्शिता कायम राख्न सफल भएको पनि जानकारी दिइयो।

कार्यक्रममा चलचित्र क्षेत्रका ३० भन्दा बढी व्यक्तिहरूलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरियो। विशेष योगदान सम्मान, विशेष चलचित्र पुरस्कार, मरनोपरान्त योगदान सम्मान, राष्ट्रिय चलचित्र पुरस्कार, आदिवासी जनजाति चलचित्र सम्मान, दीर्घ साधना सम्मान र जूरी अवार्डमार्फत स्रष्टाहरूको कदर गरिएको थियो।

विशेष योगदान सम्मानमा कलाकार, निर्देशक, छायाँकार, गायिका, वितरकलगायतलाई सम्मान गरियो। विशेष चलचित्र पुरस्कारमा गुरुङ चलचित्र ‘छे’ का निर्माता सागर केरुङ र मगर चलचित्र ‘दिलसरा’ की निर्माता तारामाया थापा सम्मानित भए। दिवंगत प्रकाश व्यवस्थापक श्रवण मास्केलाई मरनोपरान्त विशेष योगदान सम्मान प्रदान गरियो।

राष्ट्रिय चलचित्र पुरस्कार अन्तर्गत पटकथा, छायांकन, सम्पादन, अभिनय, निर्देशन, चलचित्रको समग्रता तथा आदिवासी जनजाति फिल्म विधा र जूरी अवार्ड प्रदान गरियो। दीपकराज गिरी (छक्कापञ्जा ५), पुरुषोत्तम प्रधान (पिताम्बरा), भरत रेग्मी र पुजारा सार्की (सम्पादन), उपासना सिंह ठाकुरी (खुस्मा), विजय बराल (पुराना बहादुरको सारंगी), मिन भाम (साम्बाला) लगायत सम्मानित भए।

नेवारी चलचित्र ‘गालाया वन’ ले आदिवासी जनजाति चलचित्र विधामा पुरस्कार प्राप्त गर्‍यो भने पुजारा सार्की र प्रदीप खड्काले जूरी अवार्ड प्राप्त गरे।

चलचित्र निर्देशनमा जीवनभर समर्पित वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भए। उहाँलाई तीन लाख पचहत्तर हजार रुपैयाँ राशिसहितको सम्मान प्रदान गरियो।

चलचित्र क्षेत्रको समृद्धिका लागि आवश्यक कानुनी संरचना, पूर्वाधार निर्माण, पारदर्शी प्रशासन र दक्ष जनशक्तिको उत्पादनको खाका प्रस्तुत गरिएको यस समारोहले नेपाली चलचित्र उद्योगको उज्यालो भविष्यतर्फ संकेत गरेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech