मैझारोको ‘साकेला नाचौ’मा छमछमी नाचे दयाहाङ,दीया,धिरज र मिरुना

फिल्मी फण्डा। दसैंको पूर्णिमाको अवसर पारेर फिल्म ‘मैझारो’मा समावेश दोस्रो गीत ‘साकेला नाचौ’ सार्वजनिक गरिएको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो।

राजेश पायल राई र मेलिना राईको स्वर रहेको यस गीतमा पदम साधना कुलुङको शब्द रचना छ भने तोरेम्पाहाङ राईले संगीत भरेका छन्।

ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दयाहाङ राई, दीया पुन, धिरज मगर र मिरुना मगरले छमछमी साकेला नाचेका छन्। नेपालको पूर्वी जिल्लामा बसोबास गर्ने राई समुदायले आफ्नो प्रमुख पर्वको रूपमा साकेला नाच मनाउने गर्छन्। किराँत समुदायले उधौली र उभौली पर्वको समयमा साकेला नृत्य गर्ने परम्परा रहेको छ।

लिम्बू र राई समुदायबीचको प्रेमकथामा आधारित यस फिल्ममा कथा अनुसारकै गीत संयोजन गरिएको निर्माण पक्षले जनाएको छ। गीत सार्वजनिक भएपछि दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ। त्यसैले यो गीत तिहारको समयमा विशेष रूपमा पूर्वी नेपालमा चर्चित हुने अनुमान गरिएको छ।

यसअघि फिल्मका पोस्टर, टिजर र पहिलो गीत ‘तिमीलाई के थाहा सानु’ सार्वजनिक भइसकेका छन्, जसले दर्शकमाझ राम्रै हाइप सिर्जना गरिसकेको छ।

हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशन रहेको फिल्म ‘मैझारो’ नेपाली मौलिक प्रेमकथामा आधारित छ। फिल्ममा धिरज मगर, मिरुना मगर, दीया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा बनेको यस फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन्। गायनमा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीलगायत कलाकार छन्। सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

फिल्म कार्तिक ७ गतेबाट अल नेपाल प्रदर्शनमा आउने तयारीमा रहेको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech