फिल्मी फण्डा । नेपाली चलचित्रकर्मीहरूको अन्तर्राष्ट्रिय सम्मान समारोह ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ यस वर्ष आफ्नो ८औं संस्करणमा प्रवेश गर्दैछ। यो भव्य अवार्ड शो आगामी नोभेम्बर २३, २०२५ मा अमेरिकाको बलदार थिएटरमा आयोजना हुने भएको आयोजक नवराज श्रेष्ठले बताएका छन्।
श्रेष्ठका अनुसार, तयारीका सबै प्रक्रिया तीव्र गतिमा अघि बढाइएका छन्। उनले भने, “यो अवार्ड नेपाली चलचित्रको गौरव हो। यसपटक अमेरिकामा आयोजना हुन लागिरहेको संस्करणमा देश–विदेशका चर्चित कलाकार, निर्देशक, निर्माता र प्राविधिकहरूको ऐतिहासिक सहभागिता रहनेछ।”
गत संस्करण अर्थात् ७औं ग्लोबल नेपाली फिल्म अवार्ड न्यूयोर्कमै भव्य रूपमा सम्पन्न भएको थियो। सो अवार्डमा नेपाली फिल्म उद्योगका थुप्रै कलाकार, पत्रकार र अन्तर्राष्ट्रिय पाहुनाहरूको सहभागिता रहेको थियो।
८औं संस्करणलाई अझ व्यापक र विश्वस्तरीय बनाउन आयोजक टोलीले विभिन्न अन्तर्राष्ट्रिय साझेदारी र सांस्कृतिक प्रस्तुतीहरू समेत समावेश गर्ने तयारी गरेको बताइएको छ।
आयोजक समितिका अनुसार, यसपटकको अवार्डमा चलचित्र अभिनय, निर्देशन, संगीत, छायांकन, सम्पादन, लघु तथा अन्तर्राष्ट्रिय फिल्मलगायतका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने फिल्मकर्मीहरूलाई सम्मान गरिनेछ।
“ग्लोबल नेपाली फिल्म अवार्डले विश्वभर रहेका नेपाली कलाकार र फिल्मप्रेमीहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास गर्दै आएको छ। यो नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अभियान पनि हो,” आयोजक श्रेष्ठले थपे।
बलदार थिएटर, अमेरिकामा हुने यो संस्करणमा विशेष सांगीतिक प्रस्तुति, चलचित्र प्रदर्शन र अन्तर्राष्ट्रिय अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई अझ आकर्षक बनाउने तयारी गरिएको छ।