फिल्मी फण्डा। नेपाल चलचित्र कलाकार संघले कार्यसमितिमा रिक्त रहेका पदहरूमा चार जना नयाँ पदाधिकारीहरूलाई मनोनीत गरी एक कार्यक्रमका बीच शपथग्रहण गराएको छ।
संघको गत कात्तिक २ गते बसेको बैठकले विधानको परिच्छेद–८ को दफा २६ अनुसार मनोनयनमार्फत दुई उपाध्यक्ष र दुई सदस्य पदमा नियुक्ति गरेको हो।
मनोनयन अनुसार जयन्त रेग्मी र राजकुमार शाह उपाध्यक्षमा नियुक्त भएका छन् भने जीवन थापा र श्रीदेव भट्टराई सदस्यमा नियुक्त भएका छन्। संघका अध्यक्ष मोहन निरौला ले चारैजना नवनियुक्त पदाधिकारीहरूलाई शपथ दिलाउनुभएको थियो।
यसै अवसरमा संघका कोषाध्यक्ष सुनिल कटुवाल लाई आगामी नोभेम्बर ९ देखि १६ सम्म बेलायतमा हुने International Federation of Actors (FIA) को अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न लागेकामा बधाई तथा शुभकामना प्रदान गरिएको थियो। जानकारीअनुसार सो सम्मेलनमा ६० देशका ४५० भन्दा बढी चलचित्रकर्मी र संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ र अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गर्नेछ।
कार्यक्रममा अध्यक्ष निरौलाले संघको सदस्यता वितरण र नवीकरणमा विधानअनुसारको मापदण्ड कडाइका साथ लागू गरिएको जानकारी दिनुभयो। उहाँले संघको लेखा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाइएको लगायतका सुधारात्मक कार्यहरूबारे प्रकाश पार्नुभएको थियो।
नवनियुक्त पदाधिकारीहरूलाई चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामी, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, वरिष्ठ चलचित्रकर्मी तथा कानुनी सल्लाहकार कृष्ण ढुङ्गानालगायत ले शुभकामना व्यक्त गर्नुभएको थियो।