हेलोविनको रातमै सुरु भयो काठमान्डु हरर फिल्म फेस्ट २०२५

फिल्मी फण्डा। नेपालमा पहिलो पटक आयोजना गरिएको ‘काठमान्डु हरर फिल्म फेस्ट २०२५’ रहस्यमय हेलोविनको रात पारेर शुक्रबार साँझ कमलपोखरीस्थित रसियन हाउसमा सुरु भएको छ।

नेपाल फिल्म एण्ड कल्चर एकेडेमी (NFCA) को आयोजना र रसियन हाउस तथा रुसको राजदूतावासको सहकार्यमा सुरु भएको तीनदिने महोत्सवले नेपाली चलचित्र क्षेत्रमा डर, रहस्य र कल्पना (Horror, Mystery and Fantasy) विधालाई अघि बढाउने उद्देश्य लिएको छ।

 

उद्घाटन समारोहमा महोत्सव निर्देशक रसिक पाठक ले हरर सिनेमाको भावनात्मक र कलात्मक गहिराइबारे मन्तव्य व्यक्त गर्नुभयो। "दशकौँदेखि नेपाली चलचित्रले प्रेम, समाज र अध्यात्मलाई अन्वेषण गर्दै आएको छ, तर आज हामी नयाँ क्षेत्रमा प्रवेश गरेका छौँ: डर, रहस्य र कल्पना," पाठकले भन्नुभयो, "हरर केवल भूत र छायाको कुरा होइन, यो आफैंभित्र र वरिपरि रहेका अज्ञातसँगको सामना हो।"

उनका अनुसार, हेलोविनको दिनमा सुरु भएको यो महोत्सवले नेपाली कथाकार र अन्तर्राष्ट्रिय हररप्रेमीहरूबीच सांस्कृतिक सेतु निर्माण गर्ने लक्ष्य राखेको छ।

 

मुख्य अतिथि तथा फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले उद्घाटन गर्दै हेलोविन र नेपालका गठेँमंगल तथा गाईजात्राजस्ता परम्परागत चाडहरूबीच समानता रहेको उल्लेख गर्नुभयो। "संसार एउटै हो, डर र साहसजस्ता भावनाहरू सार्वभौमिक हुन्," उहाँले भन्नुभयो। डीसीले स्वतन्त्र फिल्म फेस्टिभलहरूको सञ्जाल विस्तार गर्न बोर्डले छिट्टै देशभरका महोत्सव आयोजकहरूबीच सहकार्य बढाउने पहल गर्ने जानकारी पनि दिनुभयो।

 

रसियन हाउसकी निर्देशक तथा रुसको राजदूतावासकी काउन्सिलर आनास्तासिया खोखलोभा ले चलचित्रले संस्कृतिहरू जोड्ने बताउँदै NFCA सँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो। उहाँले फिल्म अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूका लागि रुसमा छात्रवृत्ति अवसर प्रदान गर्न आफूहरू सन्तुष्ट रहेको पनि जानकारी गराउनुभयो।

 

प्रख्यात चलचित्रकर्मी तथा NFCA का सल्लाहकार तुलसी घिमिरे ले महोत्सवलाई "उत्कृष्ट पहल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको उत्कृष्ट प्लेटफर्म" भएको बताउँदै प्रशंसा गर्नुभयो।

जुरी सदस्य राजभाई सुवाल ले सहभागीहरूलाई सबै चलचित्र हेरेर सिकाइको अवसर नछुटाउन आग्रह गर्नुभयो। महोत्सवमा स्विडेन, मोरोक्को र जर्मनीका विज्ञहरू जुरी सदस्यका रूपमा अनलाइनमार्फत सहभागी भएका छन्।

 

NFCA का उपाध्यक्ष तथा चलचित्रकर्मी शिव पुरी ले महोत्सवलाई नेपाली चलचित्र उद्योगका लागि नयाँ अवधारणा र नयाँ दिशा को सुरुवात भएको रूपमा व्याख्या गर्नुभयो। उहाँले नेपाली कथालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो।

 

महोत्सवको उद्घाटन रुसको चलचित्र 'Shaman' (मिखाइल मर्जलिकिन निर्देशित) बाट गरिएको हो। नोभेम्बर २ सम्म चल्ने यस महोत्सवमा १५ देशका २५ चलचित्रहरू प्रदर्शन हुँदैछन्, जुन ८० भन्दा बढी प्राप्त आवेदनबाट छनोट भएका हुन्। यी चलचित्रहरूमा मनोवैज्ञानिक, अलौकिक र सांस्कृतिक आयामका कथाहरू समेटिएका छन्।

 

समापन समारोहमा सर्वोत्कृष्ट फिचर फिल्म, सर्वोत्कृष्ट लघु चलचित्र र सर्वोत्कृष्ट यूथ फिल्म गरी तीन मुख्य पुरस्कार प्रदान गरिनेछ। दर्शकहरूले खल्ती एपमार्फत टिकट खरिद गरी रुसियन हाउसमा प्रदर्शन हेर्न सक्नेछन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech