फिल्मी फण्डा । भोलि (कार्तिक २१ गते) शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ (U) सर्टिफिकेट प्राप्त गरेको छ । यससँगै सबै उमेर समूहका दर्शकले यो फिल्म हेर्न पाउनेछन् ।
फिल्म हेरेका सेन्सर बोर्डका पदाधिकारीले लिम्बू समुदायको कथामा बनेको ‘जारी २’ लाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।
निर्माण टिम (बाँसुरी फिल्म्स) ले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै हल सञ्चालकहरूलाई फिल्मको व्यावसायिक प्रदर्शन सुरु गर्नुपूर्व साउण्डको गुणस्तर जाँचका लागि एक पटक ‘टेस्ट रन’ गर्न अनुरोध गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “हामीले फिल्मको साउण्ड मिक्सिङ इमर्सिभ साउण्ड फर्म्याटमा (डल्बी एटमस, डिटिएस:एक्स र अरो म्याक्स प्रणाली) डल्बी फेडर युनिट ५.८ मा गरेका छौँ ।”
निर्माण पक्षले हलहरूमा अडियो लेभल (साउण्ड प्रेसर लेभल) फरक-फरक हुने र कतिपय हलमा भोल्युम घटाउने प्रचलनले साउण्ड डिस्टोर्सन हुने भएकाले न्यूनतम भोल्युम युनिट ५ बाट टेस्ट रन गर्न अनुरोध गरेको छ ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित यो फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ ले निर्माण गरेका हुन् ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल को प्रमुख भूमिका रहेको छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ ।
फिल्ममा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा लगायतका कलाकारको पनि अभिनय छ ।