फिल्मी फण्डा। आज शुक्रबारबाट दुई नेपाली फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएका छन्। फरक–फरक कथावस्तुमा बनेका यी दुई फिल्म एकैदिन रिलिज भएपछि बक्स अफिसमा प्रतिस्पर्धा सुरु भएको छ।
उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ लिम्बू समुदायको जीवनशैली र सांस्कृतिक पृष्ठभूमिमा आधारित छ। यसमा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्। उत्कृष्ट साउण्ड मिक्सिङ र यथार्थपरक कथाका कारण फिल्मले दर्शकको ध्यान खिचेको छ।
टंक बुढाथोकीको निर्देशनमा बनेको फिल्म ‘मन बिनाको धन’ गायक अशोक दर्जी को जीवनमा आएको उतारचढाव र सामाजिक सन्देशमा केन्द्रित छ। फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।
दुवै फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘युनिभर्सल (U)’ सर्टिफिकेट प्रदान गरेको छ। निर्माण पक्षले दर्शकबाट सकारात्मक प्रतिक्रिया र सुखद ओपनिङको अपेक्षा लिएको छ।