दोस्रो सातामा ‘परान’, बक्स अफिसमा बन्यो आक्रमक, हिँड्यो ब्लकबस्टरको बाटोमा

फिल्मी फण्डा। भावनात्मक पारिवारिक कथानक सिनेमा ‘परान’ दोस्रो सातामा प्रवेश गरेको छ।
 
न्यून शो सहित रिलिज भएको ‘परान’ सिनेमाले दोस्रो सातामा आक्रमक हुने स्पष्ट संकेत दिएको छ।
 
आज शुक्रबार रिलिज भएका २ नयाँ फिल्मका कारण शुक्रबार हलमा कम दर्शक संख्यामा आएको भएपनि शनिबार फिल्मले दर्बिलो उपस्थिति देखाउने स्पष्ट संकेत दिएको छ। नेपाली हलहरूले फिल्मलाई हालसम्म १ सय ५३ हल उपलब्ध गराएका छन्।
 
अनलाइन टिकटिङ प्लेटफर्म खल्तीमा आज शो कटौती गरेका सिनेमाहलहरूले शनिबारलाई मध्यनजर गर्दै पुनः शो थपेको पाइएको छ।
 
टिकट बिक्रीको गति यस्तै प्रकारले जारी रहेमा फिल्मले थप शोहरू पाउने देखिएको छ।
 
सिनेमाका आज शुक्रबारका मात्र होइन, शनिबारका शोहरू पनि आजैबाट राताम्मे हुँदै गइरहेका छन्।
 
फिल्म ६४ शो सहित रिलिज भएको थियो, जसको व्यापारलाई लगातारको पानीले दुई दिन अवरोध गरेको भएतापनि मंगलबार सिनेमाले अभूतपूर्व गति लिन सुरु गरेको थियो।
 
फिल्मले दर्शक र समीक्षक दुबैबाट मुक्तकण्ठले तारिफ पाइरहेको छ।
 
फिल्म हेरेकाहरूले उत्कृष्ट सिनेमा भन्दै सिनेमा हेरेर आफूहरू भावुक भएको प्रतिक्रिया दिइरहेका छन् भने सामाजिक सञ्जालमा फिल्म हेरेपछि भक्कानिएका दर्शकहरूको भिडियोहरू भाइरल बन्ने तथा पोस्ट हुने क्रम जारी रहेको छ।
 
दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको सिनेमालाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभटाइजिङका रञ्जित आचार्यको सहस्वामित्वको कम्पनी बाइस्कोट सिनेमाले निर्माण गरेको हो।
 
फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, प्रविण खतिवडा, अञ्जना बराइली, बुद्धि तामाङ आदिको अभिनय रहेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech