फिल्मी फण्डा । संविधान दिवस २०८२ को अवसरमा चलचित्र विकास बोर्डले नेपाली फिल्म क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएका १५ जना वरिष्ठ तथा युवा कलाकार, निर्माता र प्राविधिकलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ । कार्यक्रम बोर्ड परिसर, चाबहिलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ले बोर्ड अध्यक्ष दिनेश डिसी को नेतृत्व क्षमतामाथि कुनै शंका नरहेको प्रष्ट रूपमा व्यक्त गरे । मन्त्री खरेलले भने, “अध्यक्ष डिसीले उत्कृष्ट काम गरेर चलचित्र क्षेत्रको इतिहास रच्ने अपेक्षा सरकारको छ । उहाँको नेतृत्वमा क्षेत्रले नयाँ मोड लिनेमा म निश्चिन्त छु ।”
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल ले पनि फिल्म क्षेत्रलाई सुदृढ बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै मन्त्रालयले सुधार र अन्तर्राष्ट्रियकरणका योजनामा सदैव साथ दिने उल्लेख गरिन् ।
कार्यक्रममा सम्मानित १५ जना व्यक्तित्वलाई सचिव अर्यालद्वारा खादा, र मन्त्री खरेलद्वारा रु. २०,०००/- नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।
सम्मानित हुनेहरूमा श्री शिव श्रेष्ठ (कलाकार), श्री सबिता गुरुङ (कलाकार), श्री तीर्थ थापा (निर्देशक), श्री यस कुमार (संगीतकार), श्री ध्रुव लम्साल (चलचित्र पत्रकार), स्व. केशव भट्टराई (कलाकार–मरणोपरान्त), श्री नाजिर हुसेन (कलाकार) र श्री अन्जु पन्त (गायिका) लगायत थिए ।
अन्त्यमा, बोर्ड अध्यक्ष दिनेश डिसीले सरकारी सहयोग र क्षेत्रमा देखिएको सकारात्मक ऊर्जाले आगामी वर्षहरूमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।