फिल्मी फण्डा। कलश इभेन्ट्सको आयोजनामा भएको ‘वाद्य सम्राट न्हुच्छेबहादुर डंगोल जुनियर बिट मास्टर मादल कम्पिटिसन–सिजन २’ अन्तर्गत नेपालको पहिलो राष्ट्रियस्तरीय जुनियर मादल प्रतियोगिताको उपाधि काठमाडौं बर्नहार्ट सेकेन्डरी स्कुलका प्रिन्स महर्जनले जितेका छन्।
प्रतियोगितामा काठमाडौं म्युजिक मण्डलाका प्रसन्न महर्जन फस्ट रनरअप तथा शान्ति निकुञ्ज सेकेन्डरी स्कुलका सलिन महर्जन सेकेन्ड रनरअप भए। काठमाडौं मोडल स्कुलका सम्यक नापित थर्ड रनरअप बन्दा समर्पण महर्जनले पब्लिक च्वाइस अवार्ड प्राप्त गरे।
विजेता प्रिन्स महर्जनलाई वाद्य सम्राट न्हुच्छेबहादुर डंगोलले पुरस्कार प्रदान गरेका थिए।
नेपालको मौलिक बाजा मादलको संरक्षण तथा प्रवद्र्धन गर्ने र नयाँ पुस्तामा मादल वादनप्रति रुचि तथा आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको फाइनल चरणमा २५ जना प्रतिस्पर्धी सहभागी थिए।
इभेन्टका अध्यक्ष सञ्जय महर्जनले नेपालको मौलिक बाजा मादललाई नयाँ पुस्तामाझ अझ लोकप्रिय बनाउने, बालबालिकामा लुकेर रहेका प्रतिभालाई राष्ट्रियस्तरको मञ्च प्रदान गर्ने तथा नेपाली कला, संस्कृति र सांगीतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
प्रतियोगिताको निर्णायकमा बाबुराजा महर्जन, सुक्रीमाया मोक्तान र ईश्वरीप्रसाद भुसाल रहेका थिए। कार्यक्रममा इभेन्ट चेयरम्यान सञ्जय महर्जन, कलश इभेन्ट्सकी म्यानेजिङ डाइरेक्टर वर्षा महर्जन तथा इभेन्ट डाइरेक्टर नरेश प्रजापति सहभागी थिए।