अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’ भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले बुधबार पोस्टर सार्वजनिक गर्दै फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेको हो।
यसअघि ‘बाटुलो जून’लाई दसैंको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको थियो। तर, दसैंमा एकैपटक धेरै फिल्म प्रदर्शनमा आउने भएपछि पर्दा बाँडफाँडमा समस्या हुन सक्ने प्रदर्शक तथा वितरकको सुझावपछि फिल्मको प्रदर्शन मिति तिहारका लागि सारिएको हो।
नयाँ प्रदर्शन मिति घोषणा गर्दै निर्देशक भुवन केसीले दसैंमा अन्य चार फिल्म प्रदर्शनमा आउने र थप अर्को फिल्म पनि आउने भएपछि प्रदर्शक तथा वितरकको सुझावलाई ध्यानमा राखेर नयाँ मिति तय गरिएको बताएका छन्। उनले नेपाली फिल्म उद्योगको हितका लागि फिल्महरूबीच प्रतिस्पर्धाभन्दा सहकार्य आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्।
सार्वजनिक पोस्टरमा अनमोल केसी र प्रिन्सी खतिवडा प्रेमिल मुद्रामा देखिएका छन्। अनमोलको लुक्सले ५० को दशकको झल्को दिन्छ। पृष्ठभूमिमा बलिरहेको लाल्टिन र आकाशमा टहटहाइरहेको जूनले दुई पात्रबीचको आत्मीय सम्बन्धलाई संकेत गरेको छ।
पोस्टरले ‘बाटुलो जून’ ग्रामीण परिवेशमा बुनिएको प्रेमकथामा आधारित फिल्म रहेको संकेत गर्छ।
सानराइज पिम्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन्। विवेक थापा सह–निर्माताका रूपमा छन्।
सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा अनमोल केसी र प्रिन्सी खतिवडासँगै भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर शिवाकोटीलगायत कलाकारको अभिनय छ।