बलिउड अभिनेता विवेक ओबेरोयको उपस्थितिमा नेपाली फिल्म ‘२६ करोड’ निर्माणको औपचारिक घोषणा गरिएको छ। भारतको मुम्बईस्थित पाँचतारे होटल ताज ल्याण्ड्स एन्डमा मंगलबार साँझ आयोजित कार्यक्रममा फिल्म निर्माणको घोषणा गरिएको हो।
अभिनेता ओबेरोयको जन्मदिनको अवसरमा क्यान्सर पीडितको सहयोगार्थ क्यान्सर पेसेन्ट्स एड एसोसिएसन (CPAA)ले आयोजना गरेको ‘रोज डे’ समारोहबीच फिल्मको घोषणा गरिएको हो।
कार्यक्रममा साहारा आर शाहलाई फिल्मको मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरिएको छ। निर्माता सुवास भुसाल र शाहबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो। शाहले अनुपम खेरको एक्टर्स प्रिपेयर्स एक्टिङ एकेडेमीमा अभिनय प्रशिक्षण लिएकी छन्।
अभिनेता विवेक ओबेरोयले शाहको फिल्मी डेब्युलाई आफ्नो जन्मदिनको विशेष उपहारका रूपमा लिएको बताए। ओबेरोय लामो समयदेखि शाहको अभिभावकत्वमा जोडिएका छन्।
शाहले तीन वर्षको उमेरदेखि क्यान्सरसँग संघर्ष गरेकी थिइन्। क्यान्सरलाई जितेपछि पनि CPAA मार्फत ओबेरोयले उनको स्वास्थ्योपचार, शिक्षा र अभिभावकत्वमा सहयोग गर्दै आएका छन्।
फिल्म घोषणा कार्यक्रममा ओबेरोय भावुक देखिए। उनले साहारालाई बाल्यकालदेखि क्यान्सरसँग संघर्ष गरिरहेको अवस्थामा देखेको स्मरण गर्दै अहिले उनलाई फिल्मको मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएको देख्दा खुसी र भावुक भएको बताए।
सामाजिक विषयवस्तुमा आधारित फिल्मको लेखन तथा निर्देशन विकास सुवेदीले गर्नेछन्। निर्देशक सुवेदीका अनुसार शाहलाई अडिसनमार्फत फिल्ममा छनोट गरिएको हो। कथाअनुसार हिन्दी लवज भएको पात्र आवश्यक भएकाले शाह छनोट भएको उनले बताए।
फिल्ममा औपचारिक रूपमा जोडिनुअघि शाहले विवेक ओबेरोय र ‘तारे जमिन पर’का लेखक अमोल गुप्तेसँग आशीर्वाद लिएकी थिइन्। कार्यक्रममा ओबेरोयले फिल्मको सफलताको शुभकामना दिँदै निर्देशक सुवेदी र निर्माता भुसाललाई धन्यवाद दिए।
यसअघि नै फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का अनुबन्धित भइसकेका छन्। फिल्ममा प्रदीप र साहाराको जोडी देखिनेछ।
किङडम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन आगामी नोभेम्बर–डिसेम्बरमा नेपालका जुम्ला र काठमाडौं तथा भारतको मुम्बई र केदारनाथका विभिन्न स्थानमा गरिने निर्माता भुसालले जानकारी दिए।
कर्णाली फिल्म फेस्टिभलका अवसरमा फिल्मको छायांकन कर्णालीमा गर्ने सम्झौता भएको थियो। सोही सम्झौताअनुसार फेस्टिभलका निर्देशक चक्रबहादुर चन्दको संयोजनमा मुम्बईमा फिल्म निर्माणको घोषणा गरिएको हो।