‘बाः एक योद्धा’ तेस्रो सातामा

काठमाडौं । तेस्रो सातामा प्रदर्शन भइरहेको फिल्म ‘बाः एक योद्धा’ले बलियो वर्ड अफ माउथका कारण आफ्नो प्रदर्शन रफ्तार कायम राखेको छ। दर्शकले आफ्नै घरपरिवारको कथा समेटिएको भन्दै हेर्नैपर्ने फिल्मका रूपमा प्रतिक्रिया दिएपछि फिल्मले तेस्रो सातासम्म प्रदर्शनलाई निरन्तरता दिएको हो।

कलाकार तथा निर्देशकसहितको निर्माण टिम मोफसलका दर्शकसँग भेटघाट गरेर काठमाडौं फर्किएको छ। टोलीले हेटौंडा, चितवन, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ र पोखरालगायत देशका विभिन्न ठूला सहरका हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो।

“हामीलाई काठमाडौंमा जस्तै मोफसलका दर्शकले पनि साथ दिनुभयो। हेर्नैपर्ने फिल्म भनेर दर्शकले प्रतिक्रिया दिनुभएको छ,” निर्देशक हरि लम्सालले भने, “दर्शकको साथ र मायाले हामी अहिले तेस्रो सातामा प्रदर्शन गरिरहेका छौं।”

फिल्म ‘बाः एक योद्धा’ले प्रदर्शनको १० दिनमा करिब १ करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो।

फिल्मको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीमा केन्द्रित छ। सन्तानका इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले भोग्नुपर्ने उपेक्षा र दुःखसम्मका विषयलाई फिल्मले उठाएको छ।

फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्मको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ।

फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सहनिर्माताका रूपमा छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech