उडान स्टुडियोको प्रस्तुति रहेको नेपाली फिल्म ‘आशा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन् । पारिवारिक कथामा निर्माण भएको फिल्मको पोस्टरले कथाबारे विभिन्न कौतूहल र प्रश्न जन्माएको छ ।
पोस्टरमा एउटा घर देखाइएको छ, जहाँ अभिनेता शुशांक मैनालीको तस्बिरमा माला लगाइएको छ । आशान्त शर्मा पण्डितको भूमिकामा देखिएका छन् भने महेश त्रिपाठी किरिया बसेको अवस्थामा छन् । अभिनेत्री अञ्जना बराइली भने घरको ढोकाबाट चिहाएर हेरिरहेकी छन् । रोयल भीमसेनले तयार पारेको पोस्टरले फिल्मको कथावस्तुबारे संकेत गर्दै दर्शकमाझ जिज्ञासा पैदा गरेको छ ।
फिल्मकी निर्मात्री शर्मिला थापाले कथाको विषयवस्तुअनुसार नै पोस्टर तयार पारिएको बताइन् । उनले भनिन्, ‘फिल्म पूर्णरूपमा पारिवारिक कथामा तयार भएको छ । यो एउटा परिवारले हेर्ने र मनन गर्नुपर्ने फिल्म बनेको छ । हामीले विषयप्रधानसँगै यसलाई फिल्मकै शैलीमा तयार गरेका छौँ, जसले हलसम्म पुग्नुभएका दर्शकको समय र पैसा वसुल हुन्छ ।’
उनका अनुसार फिल्म आगामी फागुन १४ गते प्रदर्शनमा आउनेछ । वितरक तथा प्रदर्शकसँगको छलफलपछि उक्त प्रदर्शन मिति तय गरिएको उनले जानकारी दिइन् ।
निर्देशक राजीव गुरुङको कथा तथा निर्देशनमा बनेको फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायत कलाकारको अभिनय छ । बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारी पनि फिल्ममा छन् ।
काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा छायांकन गरिएको फिल्मलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।
फिल्ममा सुदाम सीके स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक, नरेन्द्र मैनाली सिनेमाटोग्राफर, युग भुसाल र समीर खरेल संगीतकार, किशोर आचार्य साउन्ड डिजाइनर तथा लोकेश बज्राचार्य सम्पादक छन् । मेकअप तथा हेयरको जिम्मेवारी सोनाली शिल्पकारले सम्हालेकी छन् ।
त्यस्तै, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक, अरुण रेग्मी प्रोडक्सन म्यानेजर, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर तथा रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) पब्लिसिटी डिजाइनर हुन् । करण श्रेष्ठ (रीच इन्टरटेन्मेन्ट) फिल्मका वितरक हुन् ।