देवेन्द्र पाण्डेको निर्देशनमा पल–सनिषाको ‘सुनबुकी फूल’ सार्वजनिक

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री सनिशा भट्टराईको अभिनय रहेको नयाँ गीत ‘सुनबुकी फूल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गरिमा फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गायिका मिलन नेवार र गायक मार्मिक लामाको स्वर रहेको गीतमा राजनराज शिवाकोटी र गोविन्द भट्टको शब्द तथा राजनराज शिवाकोटीको संगीत छ । गीतको संगीत संयोजन बिजेश्वर राज तण्डुकार र सञ्जीव बराइलीले गरेका हुन् । गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ बिजेश्वर राज तण्डुकारले गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी देवेन्द्र पाण्डेले गरेका हुन् । भिडियोमा पल शाह र सनिशा भट्टराई मुख्य भूमिकामा छन् भने पुकार भट्टराईको पनि अभिनय छ ।

नेपाली मौलिक पहिरन, संस्कृति र सामूहिक नृत्यलाई प्राथमिकता दिइएको भिडियोमा पल र सनिशालाई परम्परागत नेपाली पहिरनमा सजिएका युवतीहरूको समूहसँग प्रस्तुत गरिएको छ । सांस्कृतिक परिवेश र मनोरञ्जनात्मक नृत्यको संयोजनले भिडियोलाई आकर्षक बनाएको छ ।

भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन तथा कलर बिजेश पौडेलले गरेका छन् । सहायक कोरियोग्राफी राजाराम सिम्खडाको रहेको छ । मेकअपमा दिपु पौडेल, ड्रेसमा सुजनी मल्ल ठाकुरी र आर्टमा जट्टा शंकरले काम गरेका छन् ।

विजय बस्यालले भिडियोको पोस्टर तयार पारेका हुन् । विनोद पौडेल प्रोडक्सन म्यानेजर, लक्ष्मण पाण्डे स्टिल्स, हरि अधिकारी ग्रुप लिडर तथा राम तिमिल्सिना प्रोडक्सन हेड रहेका छन् । भिडियोको पोस्ट प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको हो ।

गरिमा फिल्म्सले निर्माण गरेको ‘सुनबुकी फूल’ पल शाह र सनिशा भट्टराईको अनस्क्रिन जोडीलाई पुनः दर्शकमाझ ल्याउने सांगीतिक प्रस्तुति हो । लोक तथा नृत्यप्रधान शैलीको गीतले नेपाली मौलिक संस्कृति र पहिरनलाई समेत प्राथमिकता दिएको छ ।

निर्माण पक्षले गीतको अडियो तथा भिडियो अनधिकृत रूपमा डाउनलोड गरी अन्य डिजिटल प्लेटफर्ममा पुनः अपलोड नगर्न आग्रह गरेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech