‘आ बाट आमा–२’को प्रचारमा बुटवलमा उर्लिए दर्शक

काठमाडौं । असोज ३० गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा–२’को प्रचारप्रसारलाई तीव्र पारिएको छ। प्रचार अभियानअन्तर्गत फिल्मका कलाकारले बुटवलमा भव्य कन्सर्ट गर्नुका साथै पत्रकारसँग भेटघाट र अन्तरक्रिया गरेका छन्।

बुटवलको गोलपार्कमा आयोजित कन्सर्टमा पल शाह, मलिका महत र विपना थापासहितका कलाकारको प्रस्तुति हेर्न बिहानैदेखि हजारौं दर्शक उपस्थित भएका थिए। कन्सर्टमा आकाश श्रेष्ठ, निकिता आचार्य र रिस्ता गुरुङसँगै गायक बाबुल गिरी तथा गायिकाहरू गंगा सोनाम र जुरीको पनि सहभागिता थियो।

फिल्मका गायक, संगीतकार तथा गीतकार बाबुल गिरी र गायिका गंगा सोनामले फिल्मका गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए। पल शाह, मलिका महत, विपना थापा, आकाश श्रेष्ठ, निकिता आचार्य र रिस्ता गुरुङको प्रस्तुतिमा दर्शकले हुटिङ र ताली बजाएर साथ दिएका थिए।

बिहीबार सार्वजनिक गरिएको फिल्मको दशैं गीतमा कलाकारले नृत्य प्रस्तुत गर्दा दर्शकको उत्साह झनै बढेको थियो।

निर्देशक चन्द्र पन्तले फिल्मको प्रचारप्रसारलाई तीव्र बनाउन कलाकारसहित देश दौडाहामा निस्किएको बताए। उनले कन्सर्टमा दर्शकबाट उत्साहजनक माया पाएको उल्लेख गरे।

‘कन्सर्टमा कलाकारको प्रस्तुति हेर्न दर्शक बिहानै आउनुभएको रहेछ। पल र मलिका स्टेजमा जानेबित्तिकै दर्शकको हुटिङ निकै उत्साहजनक थियो। अभिनेत्री विपना थापालाई प्रत्यक्ष देख्दा पनि दर्शकले ताली र हुटिङमार्फत माया देखाउनुभयो। आकाश श्रेष्ठ र निकिता आचार्यको नृत्यमा वान्स मोरको आवाज आयो। बाबुल र गंगाको गीतमा पनि दर्शकबाट उस्तै माया पाइयो,’ पन्तले भने।

कन्सर्टअघि निर्देशक पन्तसहित फिल्मको टोलीले पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया गरेको थियो। चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष मोहन न्यौपानेको संयोजनमा आयोजित कार्यक्रममा कलाकार तथा पत्रकारबीच फिल्मका विषयमा छलफल गरिएको थियो।

चन्द्र पन्तको कथा तथा पटकथा रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिस्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका छ।

फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टको रहेको छ। करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको फिल्ममा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ।

ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर रहेको छ भने आरआर फिल्म्सले नेपालभर वितरण गर्ने जिम्मेवारी लिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech