काठमाडौं । सान्भि इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको डान्सिङ गीत ‘जाला जोबन’ सार्वजनिक भएको छ। विवाहको मौसमलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा निर्माण पक्षको छ।
सान्भि इन्टरटेन्मेन्टको यो पहिलो म्युजिक भिडियो हो। कम्पनीकी करिश्मा केसीले दर्शकबाट माया र साथको अपेक्षा गरेकी छन्। निर्देशक शोभित बस्नेतले आगामी दिनमा फिल्म, म्युजिक भिडियोसँगै सिरिज र पोडकास्टसमेत निर्माण गर्ने योजना रहेको बताए। आफूहरू पर्दापछाडि रहेर काम गर्दै छोरा सलोन बस्नेतलाई अगाडि बढाउने उनको भनाइ छ।
गीतको भिडियोमा सलोन बस्नेत र विमला खत्रीले अभिनय गरेका छन्। शोभित बस्नेतको निर्देशनमा बनेको भिडियोमा सलोन र विमलाको जोडीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। विमला गीत सार्वजनिक भएपछि भोलिपल्ट अस्ट्रेलिया फर्किने तयारीमा छिन्। उनी आफ्नो अस्ट्रेलिया फर्किने समय लम्ब्याएर गीत सार्वजनिक कार्यक्रममा सहभागी भएकी हुन्।
सीडी विजय अधिकारी र शान्तिश्री परियारको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रचना छ। गीतको रेकर्डिङ डिभाइन स्टुडियोमा गरिएको हो।
मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियो सौरभ लामाले छायांकन गरेका हुन्। बन्दे प्रसादले सम्पादन गरेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।