चौथो कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव फागुन २३ देखि

 चौथो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव (किफ) २०८३ फागुन २३ गतेदेखि सुरु हुने भएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै किफको शुभारम्भ गरिने जानकारी दिइयो।

फागुन २४ गते सुर्खेतस्थित होटल शुभमा कर्णाली पर्यटन तथा फिल्म संवाद र विशेष फिल्म प्रदर्शन गरिनेछ। सोही दिन ‘कर्णाली हेरौँ, कर्णाली घुमौँ’ भिडियो प्रतियोगितासमेत आयोजना हुनेछ।

कर्णाली अन्तर्राष्ट्रिय फिल्म अवार्ड समारोह २०८४ वैशाख ११ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरिनेछ। त्यसपछि सन् २०२७ को मे महिनामा भारतको सिक्किम र सिलिगुडीमा नेपाल–भारत पर्यटन तथा फिल्म सहकार्य संवाद आयोजना गरिने महोत्सव निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए।

कर्णालीलाई फिल्म पर्यटनको गन्तव्य र छायांकन हब बनाउने लक्ष्यसहित महोत्सव हरेक वर्ष आयोजना हुँदै आएको छ। आयोजकका अनुसार कर्णालीमा पर्यटन र फिल्म क्षेत्रको प्रचुर सम्भावना भए पनि यससम्बन्धी गतिविधि अपेक्षाकृत न्यून छन्। त्यहाँका कथा, जीवनशैली, भाषा, भेषभूषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा राज्यको भूमिका कमजोर रहेको भन्दै ‘जनजनमा नेपाली फिल्म, मनमनमा नेपाली फिल्म’ नारासहित ‘गन्तव्य कर्णाली’ अभियान अघि बढाइएको हो।

कर्णालीका पर्यटकीय तथा धार्मिक स्थल र सम्भावित छायांकन गन्तव्यलाई देशविदेशका फिल्म निर्माता तथा निर्देशकसम्म पुर्‍याउनु महोत्सवको प्रमुख उद्देश्य हो। पर्यटन र जलवायु परिवर्तनको सन्देश दिने फिल्मलाई विशेष सम्मान तथा प्रोत्साहन गरिने आयोजकले जनाएको छ।

महोत्सवमार्फत कर्णालीका स्थानीय कलाकार तथा फिल्मकर्मीको पहिचान र प्रोत्साहन, गाउँगाउँमा नेपाली फिल्म प्रदर्शन, फिल्म साक्षरता अभियान तथा फिल्म क्षेत्रका चुनौतीबारे बहस र छलफल गर्ने योजना छ। संघीय सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा महोत्सव सञ्चालन गरिने आयोजकको भनाइ छ। रेडचेरी र टिमले सुरु गरेको महोत्सवको निर्देशन चक्रबहादुर चन्दले गर्दै आएका छन्।

‘चौथो कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सवको घोषणा कार्यक्रम’मा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, गुराँस गाउँपालिका दैलेखका प्रमुख टोपबहादुर बिसी, निर्माता–निर्देशक तथा लेखक दीपकराज गिरी, निर्माता–निर्देशक एवं अभिनेता आकाश अधिकारी, निर्माता–निर्देशक तथा अभिनेत्री रेखा थापा, किफका सद्भावना दूत प्रदीप खड्का, निर्माता–निर्देशक सन्तोष सेन, निर्माता प्रेम पुरी, लेखक–निर्देशक रामशरण पाठक तथा कलाकार एवं युवा नेता हिमेश पन्त उपस्थित थिए।

महोत्सव निर्देशक चक्रबहादुर चन्दले यसपटक पनि फिल्म पर्यटन र जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकताका साथ अघि बढाइने बताए। ‘कर्णालीलाई फिल्म पर्यटनको गन्तव्य र छायांकन हब बनाउने हाम्रो लक्ष्य हो। कर्णालीका पर्यटकीय तथा धार्मिक स्थल र छायांकन गन्तव्यलाई देशविदेशका निर्माता तथा निर्देशकसम्म पुर्‍याउने, स्थानीय कलाकार र फिल्मकर्मीको पहिचान तथा प्रोत्साहन गर्ने र पर्यटन एवं जलवायु परिवर्तनको सन्देश दिने फिल्मलाई विशेष सम्मान गर्ने काम यसपटक पनि निरन्तर हुनेछ,’ उनले भने।

किफका सद्भावना दूत प्रदीप खड्काले महोत्सवले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्दै आएको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताए। सिनेमा र पर्यटनलाई सँगसँगै अघि बढाउन महोत्सव सधैँ अग्रभागमा रहने उनको भनाइ थियो।

अभिनेता तथा निर्देशक दीपकराज गिरीले आफू काठमाडौंको रैथाने भए पनि कर्णालीले सधैँ आकर्षित गर्दै आएको बताए। उनले आगामी दिनमा कर्णालीमै फिल्म छायांकन गर्न सकिने सम्भावनासमेत औँल्याए।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech