नेपाली एनिमेटेड फिल्म ‘सलिना’को टिजर : राक्षसकी रानी र राजकुमारीको लडाइँको कथा

फिल्मी फण्डा । नेपाली भाषाको पहिलो एनिमेटेड फिचर फिल्म ‘सलिना : पार्ट वान’को टिजर आइतबार सार्वजनिक भएको छ । निर्माताले युटयुबमा सार्वजनिक गरेको दुई मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ ।

सलिना नाम गरेकी योद्धा राजकुमारीले राक्षसकी रानीको आतंकलाई रोक्न लड्ने लडाइँको कथा फिल्मले पेश गर्छ । चारैतिर राक्षसकी रानीको आतंक फैलिएपछि सलिना पात्रको डायलग छ- म तयार छु ।’कथासँग एनिमेसन र भीएफएक्सको प्रयास प्रशंसनीय छ । ‘भ्वाइस अफ नेपाल’का होस्ट सुशील नेपालको पनि आवाज टिजरमा समावेश छ । टिजरको बीचमा ‘नमस्ते म तपाईंको आफ्नै सीशिल नेपाल’ भन्ने डायलग सुनिन्छ । तर सुशीलले कुन पात्रमा आवाज दिएका हुन् भन्ने खुलाइएको छैन ।

तेजशराज जोशीले निर्देशन गरेको यो फिल्मलाई रेनमेकर एनिमेसन एकेडेमीले निर्माण गरेको हो । यो फिल्म काल्पनिक कथामा बनेको र स्वदेशी प्राविधिक तथा नेपाली भाषामा निर्माण गरिएको मुलुकको पहिलो एनिमेटेड फिचर बताइएको छ । यसमा पार्श्वध्वनि बाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग नगरिएको जनाइएको छ ।

निर्देशक जोशी र श्रुति श्रेष्ठले निर्माण गरेको यो फिल्मलाई शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका हुन् । ग्राफिक्स डिजाइनर कलाकार सगीन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर हुन् । सूचना प्रविधि र नेटवर्किङको प्राविधिक कार्य अचिनसुन्दर प्रधानले गरेका छन् ।

फिल्मको भ्वाइस एक्टरहरुमा बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, शिव पुरी, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगीन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, विराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech