फिल्मी फण्डा । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले ‘बिगुल’ फिल्म हेर्नु भएको छ । नेपाली समाजमा मौलाउँदै गएको भ्रष्टाचार,राजनीतिक विकृति, प्रशासनिक बेथिति र सामाजिक विसंगतिविरुद्ध आवाज उठाएको ‘बिगुल’ को राजधानीमा मंगलबार आयोजीत बिशेष प्रदर्शनीमा पूर्वराष्ट्रपति डा.यादव,पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल,नेपाली काग्रेस सभापति गगन थापा,पूर्वमन्त्री प्रदिप पौडेल,सांसद अर्जुननरसिंह केसीलगायतका बिशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
पूर्वराष्ट्रपति डा.यादवले यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गरेको यो समाज परिवर्तनको प्रभावकारी माध्यम बन्न सक्ने विश्वास व्यक्त गरे। पूर्वप्रधानमन्त्री नेपालले आफू धेरै समयपछि हलमा गएर नेपाली फिल्म हेरेको उल्लेख गरे। उनले देशको वास्तविकता बोल्ने फिल्म भनेर सुनेपछि हलसम्म आएको बताए। ‘धेरै वर्षपछि हलमा आएर नेपाली चलचित्र हेरेको हुँ। देशको यथार्थ बोल्ने फिल्म भनेर सुनेपछि हेर्न आएको हुँ। वास्तवमै ‘बिगुल’ अत्यन्त उत्कृष्ट, यथार्थवादी र सन्देशमूलक फिल्म रहेछ,’ उनले भने ।

काग्रेस सभापति थापाले ‘बिगुल’ लाई परिवर्तनको ऐना भएको बताउदै यो फिल्मले युवा पुस्तालाई सोच्न बाध्य बनाउने र समाज रुपान्तरणको अभियानलाई थप बल पुर्याउने बिश्वास ब्यक्त गरे । ‘यो केवल मनोरञ्जनका लागि बनेको फिल्म होइन, देशको यथार्थ बोल्ने चलचित्र हो,’ उनले भने । शोमा उपस्थित बिशिष्ट तथा बौद्धिक ब्यक्तित्व सबैले फिल्मले उठाएको बिषयबस्तु,प्रस्तुतिकरण र सन्देश निकै प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए ।
दिनेश कोइरालाको कथा र निर्माण रहेको ‘बिगुल’ रमेश कोइरालाको निर्देशनमा बनेको हो । जेन्जी आन्दोलनको माहोल बन्नुअघि नै निर्माण गरिएको फिल्मले देखाएको राजनीतिक अस्थिरता, राज्य संयन्त्रभित्रको अव्यवस्था र जनआक्रोशले अहिलेको नेपालको अवस्थासँग आश्चर्यजनक समानता देखाएको दर्शकहरूको प्रतिक्रिया थियो । धेरैले यसलाई ‘समयभन्दा अगाडि बनेको चेतनाको आवाज’ भनेर समेत टिप्पणी गरेका छन्। अधिकांश अतिथिहरूले ‘बिगुल’ लाई नेपालको वर्तमान अवस्थाको निर्भीक र यथार्थ चित्रण गर्ने साहसी फिल्मका रूपमा व्याख्या गरेका छन्। फिल्मले समाजमा जरा गाडेर बसेको भ्रष्टाचार, राजनीतिक स्वार्थ, प्रशासनिक विकृति र जनताले भोगिरहेका पीडालाई स्पष्ट रूपमा प्रस्तुत गरेको भन्दै खुला प्रशंसा गरेका थिए ।

विशेष प्रदर्शनमा सहभागी बुद्धिजीवी, कलाकार, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूले पनि ‘बिगुल’ नयाँ बहस सिर्जना गर्ने फिल्म भएको बताए। अहिलेको पुस्ताले खोजिरहेको यथार्थवादी सिनेमा ‘बिगुल’ भएको प्रतिक्रिया धेरैले दिएका थिए। कथाकार तथा निर्माता दिनेश कोइरालाले समाज परिवर्तनको उद्देश्यसहित फिल्म निर्माण गरिएको बताउदै आएका छन् । ‘बिगुल’ कुनै व्यक्ति वा दलविरुद्ध नभई देशमा मौलाएको विकृति,अन्याय र भ्रष्ट प्रवृत्द्धतिबिरुद्ध उठाइएको कलात्मक आवाज हो,’ उनी भन्छन्,‘फिल्म समाजको ऐना हो, र ‘बिगुल’ ले यही ऐनामा आजको नेपालको अनुहार देखाएको छ,” उनले बताए।

आगामी जुन २६ देखि अष्ट्रेलियाका विभिन्न शहरहरूमा समेत प्रदर्शन गर्न लागिएको फिल्मको नेपाल पुन रिलिजको मिति केही समयमा तय गरिने छ । गत निर्वाचन भन्दा केही दिनअघि अर्थात् १ फागुनमा प्रदर्शनमा आएको फिल्मको चार दिनमै प्रदर्शन रोकिएको थियो । फिल्ममा बेनीशा हमाल,नरेन खड्का,जेएन घिमीरे,हेमन्त बुढाथोकी,बिनोद न्यौपाने,मिरा पण्डित,मान्सी शर्मा,रबिन्द्र खड्कालगायतका कलाकारले अभिनय गरेका छन् ।
फिल्मी फण्डा
२०८३ जेठ ६,बुधवार १२ : २० PM