फिल्मी फण्डा । नेपाल सरकारले चलचित्र विकास बोर्डमार्फत कान्स फिल्म फेस्टिभलमा ‘विशेष जुरी मेन्सन अवार्ड’ प्राप्त नेपाली चलचित्र *‘एलिफेन्ट्स इन द फग’*लाई सम्मान तथा बधाई ज्ञापन गरेको छ।
चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा गाला डिनरसहित विशेष समारोह आयोजना गर्दै चलचित्रका निर्देशक अविनाश शाह, निर्माता तथा वितरक प्रचण्डमान श्रेष्ठसहित सम्पूर्ण निर्माण टिमलाई नगद दुई लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।
सम्मान कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेस पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मतसिंह ऐयरलगायत चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी वरिष्ठ कलाकारहरू बसुन्धरा भुसाल, मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, करिश्मा मानन्धर, निरुता सिंह, नकिम उद्दिन, मोहन निरौला, दयाहाङ राई, पशुपति राईलगायत दर्जनौं कलाकार तथा *‘एलिफेन्ट्स इन द फग’*का कलाकार र प्राविधिक टोलीको समेत सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेस पौडेलले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्ने समय आइसकेको उल्लेख गर्दै यस्ता उपलब्धिलाई निरन्तरता दिनुपर्ने बताए। उनले सरकारले चलचित्र क्षेत्रप्रति सकारात्मक दृष्टिकोण राख्दै आवश्यक सहयोग र प्रोत्साहन प्रदान गरिरहेको धारणा व्यक्त गरे।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले नेपाली चलचित्र क्षेत्रको समग्र विकास र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताए। उनले मौलिक कथा र देशको पहिचान झल्काउने चलचित्र निर्माणलाई प्रोत्साहन गर्न सरकारले तीन करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रको बजार क्रमशः विस्तार हुँदै गएको उल्लेख गर्दै यसको थप विकासका लागि सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए। उनले आयकर छुटको दायरा विस्तार गर्न, सहर तथा जनघनत्व बढी भएका ग्रामीण क्षेत्रमा चलचित्र हल स्थापना गर्न सहजीकरण तथा अनुदानको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
अध्यक्ष डिसीले पछिल्लो समय सरकारले चलचित्र क्षेत्रलाई सकारात्मक रूपमा हेर्न थालेको उल्लेख गर्दै चलचित्र विधेयक पारित भई प्रभावकारी रूपमा कार्यान्वयन भएमा नेपाली चलचित्र उद्योगलाई संस्थागत विकासतर्फ अघि बढाउन महत्वपूर्ण आधार तयार हुने विश्वास व्यक्त गरे। उनले सरकारको निरन्तर सहयोग र नीतिगत समर्थन प्राप्त भए निकट भविष्यमै नेपाली चलचित्र क्षेत्र सुदृढ उद्योगका रूपमा स्थापित हुने बताए।